ओली, प्रचण्ड र देउवा निकटस्थको पराजयले नेपाली राजनीति चर्चामा

ओली, प्रचण्ड र देउवा निकटस्थको पराजयले नेपाली राजनीति चर्चामा

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई ठूलो धक्का लागेको छ। पहिलो र दोस्रो दल बन्दापनि पार्टीभित्रका प्रभावशाली नेताहरुले पराजयले ठूलो हलचल पैदा गरेको छ । पराजित हुने अधिकांश कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ रहेका छन् । ओली र देउवालाई हर कदममा साथ दिने अर्थात ‘कोर टिम’का नेताहरुको पराजयले राजनैतिक वृतमा चर्चा पाएको छ ।

ओलीको कोर टिमका शंकर पोखरेल, ईश्वर पोखरेल, राजन भट्टराई, महेश बस्नेत र विशाल भट्टराईले भारी मतकासाथ निर्वाचनमा पराजित भोग्न पुगे । पार्टीभित्र र बाहिर ओलीको गलत कदममा समेत खुलेर समर्थन जनाउने माओवादीबाट एमाले बनेका लेखराज भट्ट, प्रदीप ज्ञवाली, शेरधन राई, अग्नि खरेल, ऐन महर, गौरीशंकर चौधरी पनि अब पाँच वर्ष संसद्मा देखिने छैनन्। ओलीको दाहिने हात मानिएका कोमल वली,

शान्ता चौधरी, भानुभक्त ढकाल, शेरबहादुर तामाङ र लालबाबु पण्डितले पनि पराजय भोगेपछि सामाजिक सञ्जाल भरिएका छन् । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरी, सुनिल थापा, देवेन्द्रराज कँडेल, उमेश श्रेष्ठ, नागेन्द्र राय, भीष्मराज आङ्देम्बे पनिपराजित भएपछि काँग्रेसमा पनि हलचल पैदा भएको छ । देउवा पक्षका खगेन्द्र अधिकारी, देउकुमार थेबे, किशोरदत्त बराल, भरतकुमार शाह र रामजनम चौधरी पराजित भएका छन् ।

देउवा पक्षकै विश्व पौडेल महालक्ष्मी उपाध्याय डीना, सुरेन्द्र चौधरी, पदमनारायण चौधरी र अर्जुन जोशीले पनि पाँच वर्ष संसद् छिर्न नपाउने भए । उमाकान्त, खगेन्द्र र देउकुमार १४ औँ महाधिवेशनमा सिटौला पक्षबाट गएका थिए । पदमनारायण र अर्जुन १३ औँ महाधिवेशनमै देउवा पक्षमा खुलेका थिए।यसपटक पूर्वी मधेशमा सीके राउतको जनमत, मध्य सहरी क्षेत्रमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र पश्चिम नेपालका तराईँ जिल्लामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको उदयले ठूला र पुराना दलहरुलाई नराम्ररी धक्का लागेको छ ।

हारेका अधिकांश क्षेत्रमा पार्टी अध्यक्षनिकटका उम्मेदवारहरु छन् । कांग्रेस र एमाले दुवैमा पार्टीभित्रका प्रभावशाली नेताहरुले पराजय भोगेका छन् । पराजित हुने पनि अधिकांश सभापति शेरबहादुर देउवा निकटस्थ छन् ।

राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएका एमाले महासचिव, सचिव वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक तथा कांग्रेसतर्फ पूर्वमहामन्त्री र पूर्वउपसभामुख त्यो पनि नेतृत्वनिकटस्थको हारलाई राजनीतिक विश्लेषकहरुले जनतामा भएको उदासिनताका कारण ‘भोट ट्रान्सफर’ भएको बताए । देशैभर उदाएका नयाँ दल र युवा प्रतिनिधिले पनि त्यो पुष्टि हुने उनीहरुको तर्क छ । राजनीतिक दलप्रति भएको वितृष्णाका कारण ‘फ्रस्ट्रेसनको भोट’ नयाँमा गएर पार्टीभित्र प्रभाव भएका र राजनीतिक रुपमा स्थापित नेताहरुले हारेको दावी उनीहरु गर्छन्।

शीर्ष नेताहरु सुरक्षित हुनुमा पनि उनीहरुप्रति जनविश्वासका कारण नभएको तर्क छ । एमाले र कांग्रेसबाट मात्रै होइन यसपटक माओवादीमा त झन नराम्ररी हार भोग्नु परेको छ । माओवादी अझ प्रचण्डका विश्वासका पात्र मानिएकाहरुको पराजयले नयाँ प्रश्च खडा गरेको छ । पटकपटक उम्मेदवार बनेका नेताहरुले चुनाव हारेर मध्यमखालका नेताको विजयको कारण नेतृत्वको अक्षमता भएको तर्क उठेको छ ।

प्रचण्डले आफेना नातेदारलाई भने सुरक्षित गरिदिएको छ । जनविश्वास जोगाउन नसकेको कारण माओवादीले हार बेहोर्नु परेको विश्लेषक बताउछन् । योपटक जनताले सिद्धान्त र क्षेत्रीय एजेण्डा हेरेर नभई बिना कुनै अपेक्षा पुरानालाई बहिष्कार मात्रै गरेकाले चुनिएका नयाँ प्रतिनिधिले जनसरोकार बमोजिम काम गर्न नसके ‘राजनीतिक कोर्ष’ आगामी दिनमा पुनः बदलिनसक्ने अनुमान गरिएको छ ।

लेखक तथा राजनीतिका जानकारहरुका अनुसार युवाहरुप्रतिको जनरुझानका कारण चुनावी परिणाम बदिलिएको छ । पुरानो अनुहारदेखि विरक्तिएर नयाँ अनुहारलाई जनताले जिताएको तर्क उनीहरुको छ । जुन पार्टीबाट आए पनि युवापुस्ता नेतृत्वमा आउनु राम्रो हो । दल र दलको नेतृत्व गरिरहेकाले जनसरोकारका काम गर्न नसकेकै कारण नयाँ सम्भावना जनताले रोजेको भन्न सकिन्छ । परिवर्तनको चाहना र युवाप्रतिको रुझान तथा पुस्तान्तरणको अभ्यास यो चुनावबाट भएको देख्न सकिने विश्लेषकको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.