भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्मचारी ‘प्रोमोसन’मा आर्थिक चलखेल

कर्मचारी ‘प्रोमोसन’मा आर्थिक चलखेल

काठमाडौं । पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धिमा आर्थिक चलखेल भएपछि स्वास्थ्य सेवा विभागमा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर अहिले अनुसन्धान अघि बढाएको छ ।

विभागमा उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको हो । पारामेडिक्सतर्फ पाँचौं तहबाट छैटौं तहमा जान चलखेल भएको देखिएको छ । यस विषयमा माघ १४ गते अख्तियारमा उजुरी परेको थियो ।

स्वास्थ्य सेवा विभागमा दरबन्दी नभएका केही कर्मचारीलाई काजमा राखेर विभागका अधिकारीले आफू अनुकूल खटाएको पनि पाइएको छ । यो अनुसन्धानको विषय भएकाले भन्न अहिले नमिल्ने अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

पारामेडिक्सतर्फ पाँचौं तहबाट छैटौं तहमा जानका लागि एउटा टिममा एक सयभन्दा बढी कर्मचारीको काम भएको स्रोतको दावी छ । गत पुस २९ गते हेल्थ असिस्टेन्ट ९पाँचौं तह०लाई जनस्वास्थ्य निरीक्षक ९छैटौं तह०मा लैजाने निर्णय विभागले गरेको थियो । सोही निर्णय पछि आर्थिक चलखेल भएको विभागका एक कर्मचारीले बताए ।

जनही ६० हजार रुपैँया उठाएको कुरा बाहिरिएपछि एक कर्मचारीले सत्यता के हो रु भनेर छानबिनका लागि एक कर्मचारीले उजुरी दिएका छन् । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ अनुसार पाँचौं तहबाट छैठौं तहमा स्तरवृद्धिका लागि सम्बन्धित तहमा पाँच देखि ८ वर्ष सेवा गरेको हुनुपर्ने उल्लेख छ ।

स्तरवृद्धिका लागि पाँच वर्षको हकमा सुरु नियुक्ति भएका वा पाँचौं तहमा स्तरवृद्धि भइ सो तहको लागि न्युनतम शैक्षिक योग्यता पूरा भएको र कम्तिमा एक वर्ष अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्ने उल्लेख छ ।

पाँचौं तहबाट छैठौं तहको स्तरवृद्धिका लागि आठ वर्ष सम्बन्धित तहमा सेवा गर्नुपर्ने अवधिको हकमा पाँचौं तहमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा भएका वा स्तरवृद्धि भएकामध्ये सो तहको लागि न्युनतम शैक्षिक योग्यता नभएकाको हकमा कम्तिमा एक वर्ष अति दुर्गम वा दुई वर्ष दुर्गम क्षेत्रमा सेवा गरेको हुनुपर्ने उल्लेख छ ।

तर, ऐनविपरीत सेवा अवधि पूरा नभएका केही कर्मचारीबाट पैसा उठाएर स्तरवृद्धि गरिएको बुझिएको छ।

 


Thali Mobile Pvt.Ltd.