काठमाण्डौं । कांग्रेस प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छन् ।
प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भए। यस्तै सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । यता लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भए भने वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याए । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । प्रदेश–२ को अधिवेशन कहिले हुने अझै अन्योल छ । यहाँ रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।
प्रदेश निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने संस्थापन समूह सुदूरपश्चिममा सबैभन्दा मजबुत छ । त्यहाँ कुल खसेको मतको झन्डै ७० प्रतिशत संस्थापनले पाएको छ । सुदूरपश्चिमबाट करिब ४ सय १५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । १३ औं महाधिवेशनमा निकै कमजोर अवस्थामा रहेको कर्णालीमा पनि यसपटक संस्थापन समूह मजबुत देखिएको छ ।
