काठमाडौं । यसपालिको स्थानीय तह निर्वाचनले अकल्पनिय नतिजा हासिल गरेको छ । सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा राजनैतिक दल भन्दा पर रहेर स्थानीयले स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका ¥यापर बालेन शाहलाई निर्वाचित गराए ।
सायद दलका उदारा भाषणले होला वाक्क भएका स्थानीयले फरक अनुहारलाई निर्वाचित गरेसंगै अनपेक्षित नतिजा आएको नगरबासीले बताएका छन् । निर्वाचन भएको १४ दिनपछि महानगरको मतगणना सकिएर जनप्रतिनिधि आएका छन् । महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह(बालेन) निर्वाचति भए भने उपमेयरमा एमालेबाट सुनिता डंगोल निर्वाचित भइन् ।
अघिल्लो चोटी काठमाडौंमा नेकपा एमालेको प्रमुखसहित बहुमत नगर सदस्य निर्वाचित भएका थिए । तर यसपाली निर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै बहुमत वडाध्यक्षसहित नेपाली कांग्रेसबाट नगरसभा सदस्यमा बहुमत नेपाली काँग्रेसको आएको छ ।
प्रमुख, उपप्रमुख, महानगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर काठमाडौं महानगरको ४२ सदस्यीय नगर कार्यपालिका बन्छ ।
नेपाली कांग्रेसले १९ वटा वडा जितेको छ भने नेकपा एमालेले १२ वडा जितेको छ । वडा नम्बर ६ देखि १२ सम्मका सबै वडामा काँग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्यमा पनि कांग्रेसकै बहुमत छ । एमालेले १ देखि ५ सम्मका सबै वडासहित १३,१८,२१, २२, २३, ३१ र ३२ वडामा जित हासिल गरेको हो ।
वडा सदस्यमा एमालेका तर्फबाट ४५ सदस्य जितेको छ । यता नेकपा एकीकृत समाजवादीले १ वडा जितेको छ । त्यो हो १५ नम्बर वडा । वडाध्यक्ष सहित एकीकृत समाजवादीले चार जना सदस्य जितेको हो । काठमाडौं महानगरमा बालेनले सहजै भारी मतकासाथ जित हासिल गरेपनि काम गर्न भने निकै चुनौती रहेको जानकारहरुले बताएका छन् ।
दलको टिकट लिएर निर्वाचित भएका सदस्यहरुको मन जिते काम गर्न सहज हुने नत्र कार्यपालिकामा बालेनलाई काम गर्न निकै गाह्रो हुने बुझिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा पनि महानगरले गरेको निर्णयहरु कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ मा सभा, कार्यपालिकाको वैठक बोलाउने, वैठकमा प्रस्ताव पेश गर्ने, गराउने काम नगर प्रमुखको हुने गर्दछ ।
तर कार्यपालिकाबाट बनेको नियमावलीले नै नगर प्रमुखको अधिकार निर्धारण गर्दछ । कार्यपालिका बोलाउने, प्रस्ताव लैजाने नगर प्रमुखको अधिकार छ । त्यसैकारण काठमाडौं महानगरमा राजनीतिक दलबाट विजयी भएका नगरसभा सदस्यहरुले बालेनलाई साथ दिने वा अफ्ठयारो पार्ने यसले नै काम गर्ने बातावरण सिर्जना हुने देखिन्छ ।
सार्वजनिक रुपमा नै बालेनले कार्यपालिका वैठक लाइभटेलिकास्ट गर्ने बताएका छन् । जसरी आएपनि जनताले अनुमोदन गरिसकेपछि जनताकै लागि काम गर्ने भएकोले बालेनलाई काम गर्न सहज हुने कतिपय राजनैतिक नेतृत्वले बताउँदै आएको छ ।
