भर्खरै : Sorry, your browser does not support inline SVG.

‘कानुनका विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ज्ञान हासिल गरी समाज र देशको हितमा सही ढंगले काम गर्नु पर्छ’

‘कानुनका विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ज्ञान हासिल गरी समाज र देशको हितमा सही ढंगले काम गर्नु पर्छ’

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा कलेजको आयोजनामा कानुन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘कानुन विषयको अध्ययन र यसको महत्व’ विषयमा प्रवचन कार्यक्रम जुममार्फत बिहीबार सम्पन्न भएकाे छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन पढ्न चाहेका र कानुन पढिरहेका विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुमा ज्ञान हासिल गरी समाज र देशको हितमा आफूले पढेको ज्ञान सही ढंगले प्रयोग गर्न मार्गनिर्देश गरे ।

सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि कानुनको धेरै महत्व भएको बताउदै सबै पेशामा पनि कानुनको महत्व उत्तिकै रहेको बताए । गलत बाटोमा लागेका व्यक्तिहरुलाई दण्ड सजायँमार्फत सही ठाउँमा ल्याउने काम पनि कानुनले गर्ने बताए । देशको पक्षमा बोल्ने क्षमतावान अधिवक्ताहरुको खाँचो रहेको औंल्याउदै प्रजापतिले  शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाको भूमिकाबारे प्रष्ट पारे ।

शिक्षालाई उच्च प्राथमिकतामा राखी नगरपालिकाले ६ वटा शिशुस्याहार र सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरी शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउने उद्देश्यका साथ अगाडि बढिरहेको बताए । नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले सस्तो र गुणस्तरीय शिक्षाको अवसर देशैभरिका विद्यार्थीहरुलाई प्रदान गरिरहेको बताए । ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको जानकारी दिए ।

कार्यक्रममा ‘कानुन शिक्षाको भविष्य र महत्व’ बारे संविधानविद् अधिवक्ता डा. भिमार्जुन आचार्यले सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई कानुनको महत्व अपरिहार्य भएको बताए । कानुन विषय समाजमा सम्मानित विषयको रुपमा परिचित भएको भन्दै उनले एउटा व्यक्ति, संस्था र समाज सञ्चालनको लागि कानुनको धेरै ठूलो महत्व रहेको बताए ।

कानुनका सबै विषय व्यवहारिक जीवनमा पनि लागु हुने र कानुन अध्ययनमा धेरै मिहिनेतको खाँचो भएको बताउदै अधिवक्ता आचार्यले कानुनलाई समाजमा केही बद्मास व्यक्तिहरुले बद्नाम गरिरहेको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता सबिता भण्डारी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र कानुन विषयका विभागीय प्रमुख अनिता जधारीले धारणा राखेका थिए । कानुन संकायका विद्यार्थी आयुषा थकुलवट र बबिन भट्टराईले ख्वप कलेजमा अध्ययन गर्दाको आफ्नो अनुभव समेत सुनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.