काठमाडौँ । सरकारले घोषणा गरेको एकीकृत केन्द्रीय अस्पताल बनाउन गरेको निर्णय अझै कार्यान्वयन भएको छैन् । वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि सरकारले एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय अझै कार्यान्वयनमा नआएको हो । गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय शैयाको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।
संक्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शैया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा आउन सकेको छैन । अहिले पनि सो भवन प्रयोगविहीन अवस्थामा छ ।
नयाँ भवनमा अक्सिजन प्लान्ट तथा ट्याङ्क जडानका लागि मन्त्रालयले वीर अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको र अक्सिजन प्लान्ट र ट्याङ्क जडान भएको भोलिपल्ट नै मन्त्रालयले तरल अक्सिजनको आपूर्ति गर्ने जनाइएको छ । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो ।

