काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएपछि अहिले चिकित्सकको टोली घटना स्थलमा पुगेको छ । झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् ।
सबैभन्दा बढी कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको हो । विरामीको बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचार भइरहेको । अस्पतालमा झाडापखालाका ९० भन्दा बढी विरामीको उपचार भएपनि चाब बढेपछि अन्यत्र रिफर गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कैलाश खबरलाई बताए ।
के कारणले झाडापखाला फैलियो भन्नेबारे स्याम्पल कलेक्शन गरेर ल्यावमा पठाइएको र चिकित्कलाई प्रकोप नियन्त्रणका लागि घटनास्थलपमा खटाइएको प्रजिअ पाण्डेले बताए । अहिले विस्तारै नियन्त्रणमा आइरहेको उनको भनाइ छ । यता अस्पतालमा बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनासम्म राखेर उपचार गरिरहेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताए ।
बिरामीहरुलाई अस्पतालको आँगनमा उपलब्ध सेवा सुविधाका साथ उपचार गरिरहेको उनको भनाइ छ । झाडापखालाबाट एउटै गाउँका ६२ जना बिरामी परेका छन् । बिरामी पर्नेमा धेरै बालबालिकाह रहेका छन् । गम्भीर बिरामीलाई जिल्ला अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ । झाडापखाला कसरी फैलियो अहिले सम्म जानकारीमा छैन ।
तर दूषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने चिकित्सकले अनुमान गरेका छन् । पानीको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाए पनि दिउँसो या साझ सम्म रिपोर्ट आउने सरोकारवालाले बताए । जिल्ला अस्पतालको चिकित्सकसहितको विज्ञ टोलीलाई पनि शिवराज अस्पताल पठाइएको प्रजिअ पाण्डेले बताए ।

