१७ साउन २०७७ वीरगन्ज । कोरोना संक्रमणका कारण पछिल्ला समय वीरगन्जको अवस्था भयावह भन्दै गएको छ । दुई दिनमा पाँच जनाको मृत्यु भएको छ । साउनमा मात्रै वीरगन्जमा ९ जना संक्रमितको मृत्यु भइसकेको छ । बिहीबार पर्साका ४१ जनामा संक्रमण भेटिएकोमा ३७ जना वीरगन्जकै हुन् ।
बुधबार पनि ८४ जनामा संक्रमण भेटिएको थियो । असार अन्तिममा अस्पतालमा दुई जना मात्रै संक्रमित थिए भने साउन सुरु भए लगत्तै दिनहुँ संक्रमित थपिँदै गएका छन् । समुदायमै संक्रमण फैलिएको भन्दै वीरगन्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा जारी छ ।
मास टेस्टिङमा संकलन गरिएका स्वाबमा २० प्रतिशतभन्दा बढीको पोजेटिभ रिपोर्ट आइरहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा. मदन उपाध्यायले बताए । कोभिड अस्पतालमा संक्रमित राख्ने ठाउँ नहुँदा एक सय २६ जना संक्रमितलाई घरमै राखिएको छ । यता कोरोना नियन्त्रण तथा रोकथामको काममा जान नमान्ने वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। विभिन्न बहाना गरेर काममा नगएपछि नियन्त्रणमा लिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगी पनि कोरोना संक्रमित भएका छन् । उनी काठमाण्डौंमा उपचाररत छन् ।
