भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर | मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी |

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर

काठमाडौँ, ३ मंसिर । काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेको भन्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले कार्ययोजना तयार गरिरहेको जानकारी दिनुभयो । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डंगोलले जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने भएकाले यसको नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने बताउनुभयो ।

डंगोलका अनुसार मंसिर ७ गतेदेखि १३ गतेसम्म आयोजना हुने ‘काठमाडौँ जलवायु कार्य सप्ताह’का क्रममा वायु प्रदूषण नियन्त्रणसम्बन्धी कार्ययोजना सार्वजनिक गरिनेछ । उहाँले बिहीबार काठमाडौँ विश्वकै तेस्रो धेरै वायु प्रदूषित सहरको सूचीमा पुगेको उल्लेख गर्दै यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक भएको बताउनुभयो । अघिल्लो दिन पाँचौँ स्थानमा रहेको काठमाडौँ एक दिनमै तेस्रो स्थानमा पुगेको उहाँको भनाइ छ ।

महानगरपालिकाले तयार गरिरहेको कार्ययोजनामा आफ्नै क्षेत्रभित्र गर्न सकिने कामका साथै छिमेकी स्थानीय तह, बागमती प्रदेश सरकार र सङ्घीय सरकारसँगको समन्वयमा अघि बढाउनुपर्ने कार्यक्रम पनि समेटिनेछ । जलवायु कार्य सप्ताहमा जलवायु परिवर्तनका विभिन्न पक्षबारे सातवटा फरक विषयगत समूहमा छलफल गरिनेछ । निजी क्षेत्र, सार्वजनिक निकाय, नागरिक समाज, वैज्ञानिक र कृषकसहित विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याएर जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका उपाय पहिचान गर्ने महानगरको तयारी छ ।

डंगोलले जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनको बाटो तय गर्न सप्ताह महत्त्वपूर्ण हुने बताउनुभयो । महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ’ अभियानलाई पनि सँगसँगै अघि बढाउने उहाँले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाको आयोजनामा हुन लागेको जलवायु कार्य सप्ताहले उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहहरूबीच सहकार्य र साझा कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.