काठमाडौं। भारतमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि अवस्था भयावह हुन सक्ने भएकाले सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ।
भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नेपाल भारत सबै नाका बन्द गर्ने तयारी गरेको हो। भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेपछि कञ्चनपुरको गड्डा चौकी, बाँकेको जमुनाहा नाका भैरहवाको सुनौली नाकामा आवतजावतलाई कडाई गरिएको छ ।
जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनदेखि नेपाल पठाउने गरेका छन् । पर्साको रक्सौल, विराटनगर तथा काकडभिट्टा नाकाबाट अत्यावश्यक सामाग्री बोकेका सवारी साधानबाहेक अन्य सवारी साधानलाई प्रवेश निषेध गर्न थालिएको छ।
त्यसैगरी कपिलवस्तुको कृष्णनगरबाट पनि अत्यावश्यक सामान बोकेका सवारी साधान मात्रै प्रवेश दिन लागिएको र अन्यलाई रोक लगाउने तयारी भैरहेको छ। भारतसँग खुला सीमा भएकाले सुरक्षाकर्मी परिचालन गरी नाका बन्द गर्न लागिएको हो।
