मुस्ताङ । स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि व्यवसायी मात्रै होइन उपभोक्ता समेत खुशी भएका छन् । बेमौसममा पनि रसिला र स्वादिला मुस्ताङी स्याउ खान पाउने भएपछि व्यापारी र उपभोक्ता खुशी भएका हुन ।
यहाँका स्याउ उत्पादक कृषकहरुले आर्थिक ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको स्थानीयले बताए । १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएको घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले बताए ।
एप्पल जोन कार्यक्रमबाट रु आठ लाख अनुदान पाएपछि रु आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको उनको भनाइ छ । गुरुङले भने, ‘कोल्डस्टोर नहुँदा बिक्री नभएका स्याउहरु कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो । अब त्यो समस्या हटेर गयो ।’
मुस्ताङलाई स्याउ जोनका रुपमा सरकारले परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि यहाँका स्याउ कृषकहरु अझै जिम्मेवार बनेका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधी खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक कृषकहरुलाई सजिलो भएको कृषक बताउँछन् ।
स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट रु १७ हजार, एक हजार पाँच सय स्याउका बिरुवाहरु र ढुवानी तथा औषधोपपचारका लागि भनेर रु ३५ हजार पनि अनुदान पाएको गुरुङको भनाइ छ । एक हजार दुई सय हेक्टर जमिनमा व्यावसायिक स्याउ खेती गरिएको छ भने करिब छ सय हेक्टर जमिनमा किसानले उत्पादन लिन थालेका छन् ।
बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।जिल्लामै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानहरुले बताएका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ पाइने मुस्ताङमा धेरै प्रजातिका स्याउ पाइन्छन् । मार्फामा बागवानी केन्द्र स्थापना भएपछि २०२३ मा स्याउ खेतीप्रति आकर्षण बढेको हो ।
सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । जिल्लामा स्याउ उत्पादन गर्न कठिन नभए पनि बजारीकरणका लागि यातायातको निकै समस्या रहेको स्याउ कृषकको गुनासो छ ।
सरकारले पछिल्लो समय अनुदान वृद्धि गरेर सजिलो भएपनि कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या रहेको टीका शेरचनले बताए ।
