क्षणभर मै कोरोनाको नतिजा आउने विधि अवलम्बन गर्दै नेपाल

क्षणभर मै कोरोनाको नतिजा आउने विधि अवलम्बन गर्दै नेपाल

काठमाडौँ । सरकारले कोरोना परीक्षण गरेको केही समयभित्रै रिपोर्ट आउने एन्टिजेन विधि सुरु गरेको छ । अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने गरेको छ ।

संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो । डब्ल्युएचओको सहयोगमा यो विधीबाट परीक्षण थालिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले बताए ।

यसको ‘सेन्सिटिभिटी’ राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनको भनाई छ । काठमाडौं उपत्यकामा आजदेखि हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट परीक्षण सुरू हुनेछ । यो प्रभावकारी देखिए मास स्क्रिनिङ पनि सुरू हुनेछ । यसको प्रयोग सुरक्षाकर्मीका ब्यारेक तथा स्कूल कलेजमा पनि गर्ने योजना छ ।

हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा आजदेखि एन्टिजेन परीक्षण थालिएको छ । महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको छ। एन्टिजेन परीक्षण विधि अमेरिका, दक्षिण कोरिया लगायतका मुलुकले अवलम्बन गर्दै आएको विधि हो ।

 


Thali Mobile Pvt.Ltd.