काठमाडौं । नेपालकै जेठो अस्पताल वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालन प्रशासनले कर्मचारीको तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका हुन । वीर अस्पतालका कर्मचारीहरु संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् ।
कर्मचारी आन्दोलन संघर्ष समितिले अस्पतालको लेखा, प्रशासन, खरिद एकाइ र न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला समेत लगाएको छ । समस्या समाधान गर्न अस्पताल प्रशासन तत्पर नभएको भन्दै वीर अस्पताल कर्मचारीले मंसिर ४ देखि १२ गतेसम्म न्याम्स (नेसनल एकेडेमी अफ मेडिकल साइन्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए । सरकारले घोषणा गरेको सेवा सुविधासमेत सरकारले दिन नसकेको गुनासो गर्दै वीर अस्पताल मातहत ट्रमा सेन्टर राखिनु पर्ने कर्मचारीहरुले माग गरेका छन् ।
तोकिएको तलब पाउनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै कर्मचारीहरुको माग रहेको छ । महामारीको समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीले जोखिममा काम गरेबापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्तालगायत पनि नपाएको कर्मचारीको गुनासो छ ।
करार र ज्यालादारीमा कार्यरत कर्मचारीले २०७७ चैतदेखि कोभिड भत्ता नपाएको गुनासो गरेका छन् । वीर अस्पतालका कर्मचारी ३ कात्तिकदेखि आन्दोलनमा छन् । १९ मंसिरभित्र माग सम्बोधन नभए काम छोडेर आन्दोलन गर्ने संघर्ष समितिको तयारी छ ।अस्पतालका दुवै गेटमा पदाधिकारी प्रवेश निषेधको ब्यानरसमेत टाँसेका छन् ।
