गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

गोदावरी । गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ । गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराउनुभएको हो ।

उहाँ स्थलगत रूपमै बिरुवा उपलब्ध गराउँदै रोपणमा पनि सहभागी हुनुभएको थियो । कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधि पनि वितरण गरिएको थियो । सो अवसरमा योगगुरु किशोरकुमार जोशीले योग गराउनुभएको थियो । सामाजिक अभियानकर्मी राजेश प्रधानले उपस्थितलाई सकारात्मक सोचको ऊर्जा प्रदान गर्ने कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी नगरपालिकाको ठैवमा निरा गृहिणी समाजको सक्रियतामा स्थानीयबासीलाई गुर्जोको बिरुवा तथा यसबाट बनेको चिया तथा धुलो सेवा गरिएको थियो ।

यो सेवा विशेषगरी कोरोना प्रभावितलाई दिइएको हो । पाँचखालको दुग्धेश्वरमा २०० गुर्जोको बिरुवा रोपण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित दुग्धेश्वर महादेवको प्राङ्गणमा रहेको सामुदायिक वनमा पनि २०० गुर्जोको बिरुवा रोपिएको छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, दुग्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरि घिमिरे, वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश तिमल्सिनाका साथै स्थानीय सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सहभागिता थियो ।

कार्यक्रमको समन्वय पाँचखाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा समाजसेवी दिलबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० हजार गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको सो अवसरमा राजलवटले बताउनुभयो । यस वर्ष पनि करिब नौ हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।

निःशुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो निःशुल्क वितरणसमेत गरिएको थियो । आन्तरिक राजश्व कार्यालय लहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रूपमा निःशुल्क वितरण अभियानमा उहाँ लाग्नुभएको हो । हाल धुलिखेलमा सरुवा भएपछि पनि उहाँले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहनुभएको छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो स् तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उहाँ बताउनुहुन्छ । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रूपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले आवश्यक पर्नेले देशभर तोकिएका १२१ केन्द्रबाट गुर्जोबाट बनेको चिया र धुलो लिन सक्ने अभियानकर्मी राजलवट बताउनुहुन्छ । यी केन्द्र हाल देशभरका ३६ जिल्लामा स्वयंसेवी रूपमा शुरु गरिएको छ । अन्य जिल्लामा पनि स्वयंसेवीका रूपमा गुर्जो बाँड्न चाहने अभियानकर्मीले सेवा गर्न सक्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.