काठमाडौं । धार्मिक र सांस्कृतिक महत्वको पर्व छठलाई हर्षोउल्लासका साथ मनाउँन राष्ट्रिपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइने यो पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना भन्दै सामाजिक सद्भाव कायम राख्न उल्लेख गरेका छन् ।
शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचान र साझा पर्वको रुपमा विस्तार भएको भिभिआइपीको ठहर छ । छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धि छावस भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छठको शुभकामना व्यक्त गरेकी छन् ।
भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न छठले मद्दत पुग्नेछ भन्ने शुभकामना सन्देश दिएकी छन् । यसैबीच पर्वले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास उपराष्ट्रपति नन्दबहादुर पुनले लिएका छन् ।
छठका अवसरमा शुभकामना सन्देश दिँदै पुनले तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ संसारकै मौलिक पर्वका रुपमा रहेको बताए । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष नेपाल विविध धर्म, संस्कार र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै पुनले विविधतायुक्त नेपाली संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ समेत गर्दै आएको बताए ।
यता संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने देउवाले कामना गरेका छन् ।
छठको विधिपूर्वक व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।
श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताकोरुपमा पूजाअर्चना गरी मनाउन थालिएको छ ।