जसले लालपूर्जा दिने प्रतिवद्धता र विश्वास दिलाउँछ उसैलाई भोट दिने बोटे समुदायको माग

जसले लालपूर्जा दिने प्रतिवद्धता र विश्वास दिलाउँछ उसैलाई भोट दिने बोटे समुदायको माग

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् । यस्तै नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले लालपूर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताउदै माग गरिरहेका छन् ।

वर्षौँदेखि खोला किनारमा बस्ने र माछा मारेर जीविका चलाउँदै आएको यस समुदायले माछा मारेर जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका हुन् । अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानका बोटे अगुवा लछुराम बोटेले बताए ।

उनले भेन, ‘बाबुबाजेको पालादेखि खोला किनारमै बस्दै आयौँ, हामी र हाम्रा सन्तान पनि खोला किनारमै जन्मिने र हुर्किने गरे, अबको समय भने बदलिएको छ, नयाँ पुस्ता माछा मार्न जानै छाडे, आफ्नो नाममा जमिन छैन त्यसैले जसले लालपूर्जा दिन पहल गर्छ उसैलाई भोट दिन्छौं ।’ जुन उम्मेदवारले जमिन र लालपूर्जा दिने प्रतिबद्धतासहित विश्वस्त पार्छन् उनै उम्मेदवारलाई मतदान गर्ने अडानमा रहेका उनीहरुले सोच बनाएका छन् ।

ती समुदायका मानिस बस्दै आएको ठाउँमा विभिन्न समयमा जग्गा नापी गरिएको भए पनि हालसम्म आफूहरूको हातमा लालपूर्जा प्राप्त नभएको उनीहरूको गुुनासो छ । निर्वाचनका बेला बोटे समुदायलगायत सुकुमबासीको मत निर्णायक हुने भए पनि निर्वाचन जितेपछि उनीहरुको अवस्थाका बारेमा कसैले जानकारी लिने नगरेको भनाइ छ । जग्गा र लालपुर्जासँगै आफूहरूलाई सीप र रोजगारीको आवश्यकता भएको कालिमाया बोटेले बताइन् ।

आफ्ना बालबालिका विद्यालय जानै नमान्ने अवस्था रहेको भन्दै बोटेले बालबालिकालाई विद्यालय पुगेर पढ्ने–लेख्ने वातावरण गराउनु पनि जनप्रतिनिधिको दायित्व भएको बताएका छन् ।पहिलोपटक मतदानमा सहभागी हुने तयारीमा रहेका बोटे समुदायका युवा भने मतदानमा उत्साहीसँगै आफूहरूको अवस्था परिवर्तन आउनेमा आशावादी भएका छन् । नारायणी नदीले छोएको जिल्लाको स्थानीय तहहरूमा बोटे समुदायको बसोबास रहेको छ ।

जिल्लाको गैँडाकोट , देवचुली , कावासोती , मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी किनारका गाउँमा सो समुदायको बसोबास छ । यहाँ बसोबास गर्ने अधिकांश बोटे समुदायका मानिस सुकुम्बासी छन् । एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० हजार तीन सय ९७ जना बोटे समुदायका मानिस रहेका छन् भने सबैभन्दा बढी नारायणी तथा कालीगण्डकी नदी किनारमा बसोबास गरिरहेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.