गुल्मी । रेसुंगा नगरपालिकाले ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न पालिकाले एसईईमा ३.२० वा त्यसभन्दा धेरै जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
पालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्नेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरभित्रको शैक्षिक गुणस्तरलाई सुधार्ने उद्देश्यले नगरभित्रका शैक्षिक संस्थाहरूलाई चलायमान बनाउन विशेष शैक्षिक अभियान सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
समग्र गुल्मीको शैक्षिक क्षेत्रलाई उच्च स्थानमा पुर्याउन मद्दत गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।
जुनसुकै जिल्लाको बासिन्दा भए पनि रेसुंगाभित्रका शैक्षिक संस्थामा पढेर एसईई दिई अब उच्च मावि पनिपालिकाभित्रकै शैक्षिक संस्थामा पढ्नुपर्ने छ भने रेसुंगा नगरपालिका स्थायी ठेगाना
भई देशका जुनसुकै विद्यालयबाट एसईई दिए पनि रेसुंगाभित्रकै शैक्षिक संस्थामा पढ्नु पर्ने पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले बताए । रेसुंगाभित्रकै शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी १ सय ४६ जना छन् ।
