धनगढी । सरकार ठूला भ्रष्टाचारीलाई संरक्षण गरेर भरियालाई समातेको प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले आरोप लगाएका छन् । राप्रपा सुदूरपश्चिम प्रदेश समितिको १३ औं बैठक तथा नवीन राप्रपाको अवधारणा बारे जानकारी दिन बुधबार राप्रपा प्रदेश कमिटिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन ।
शाहीले भने, ‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ, तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतिमात्र नभइ ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषी हुन्छन् ।’
एक क्विन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाए । सुन तस्करी काण्डको छानबिन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएकोमा सरकारले त्यसलाई बेवास्ता गरेको प्रतिनिधि सभा सदस्य शाहीले बताए ।
उच्चस्तरीय छानबिन समिति गठन गर्दा सरकारमा सहभागि दलबाटै धेरै नेताको संलग्नता देखिने डरले प्रधानमन्त्रीलेनै उच्च स्तरिय छानबिन समिति गठनको मागलाई बेवास्ता गरेको शाहीको आरोप छ ।
सरकार जनताका आँखामा छारो हालेर सस्तो लोकप्रियता कमाउन तर्फ लागेको भन्दै त्यसको प्रयास धेरै नटिक्ने बताए । पहिला हतियार बोकेर जनतालाई तर्साउने माओवादी केन्द्रले अहिले क्यामराको आडमा जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । त्यसका लागि माओवादी केन्द्रले ठूला सञ्चार प्रतिष्ठानलाई प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याएको जिकिर गरे ।
