पाटन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा आज भएको तहगत सम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रियामा उनले संघीयताको मर्मविपरीत सङ्घमै अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्ने बताए ।
अध्यक्ष तिमल्सिनाले भने, ‘बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्छ । अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ । एक प्रदेश र अर्को प्रदेश जोड्ने मापदण्ड हुनुपर्छ । जनसङ्ख्यालाई पनि आधार बनाएर अर्को तवरले योजना बनाउन सकिन्छ ।’
सङ्घीयताको मर्म अनुरूप समन्वयका लागि तीनै तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले राष्ट्रियसभाले संघीयता कार्यान्वयनसम्बन्धी निचोड निकालेर कार्यान्वयनका लागि निर्देशनसमेत गरेको बताए।
अध्यक्ष तिमिल्सिनाले तीन तहबीच भएको बजेट, योजना, कार्यक्रम र कार्यालय सञ्चालनमा भएको दोहोरोपना हटाउनुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । राष्ट्रियसभामा तीनै तहको प्रतिनिधित्व रहेको बताउँदै प्रदेश सभामुख पाठकले यी सबै समस्याको समाधान गर्ने थलो राष्ट्रियसभा भएको धारणा तर्क गरे ।
उनले तीनै तहको अभिभावकत्व ग्रहण हुने गरी सभालाई सञ्चालन गर्न आग्रह गरे ।
