काठमाडौँ । नेपालमा ठूला महल बनाउन रोक लगाउनु पर्ने उपसभामुख इन्दिरा राना मगरले बताएकी छन् । घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने उनको भनाइ छ ।
शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् । भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन्, त्यो म मेयर भएको भए रोकिदिन्थेँ ।
विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा यहाँ अभाव भयो, सबै मानिस बाहिर जानुभयो ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गरिन् ।
यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ ।
