भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

तनहुँको म्याग्देमा हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान

तनहुँको म्याग्देमा हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम दिएको छ । पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो ।

गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदानबापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिनुभयो । गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु बस्तुको उपचार गरिएको छ ।

गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई १४ लाख ९८ हजार पाँच सय ८२ रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ। गाउँपालिकाले प्रति लिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने कृषकलाई ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई दुई लाख १२ हजार दुई सय ३२ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई एक लाख ६५ हजार एक सय ६३ रुपैयाँ वितरण गरिएको पशु सेवा शाखाले जानकारी दिएको छ ।

म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूग्ध उत्पादन गरी बिक्री गरेको हो । यो आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत् म्याग्दे सहकारीका ५५, गौ सेवा सहकारीका १० र साँगे चार हजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.