काठमाडौं । ‘तमु ल्होसार’को अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । गुरुङ समुदायले मनाउने पर्व तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले समेत ल्होसार पर्व मनाउँने गरेका छन् ।
उनीहरुले मनाउने ल्होसारको नाम समेत फरकफरक छन् । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ। यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसै पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
