काठमाडौं । प्रत्येक वर्ष दशैंको नवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।
हनुमानढोका दरबार क्षेत्रमा कोरोनाको कुनै प्रवाह नगरी घुइचो लागेर लाइनमा दर्शनार्थीहरुले तलेजु भवानीको दर्शन गर्न पालो कुरेर बसेका छन् । गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले तलेजुको मन्दिर बन्द गरिएको थियो भने यो वर्ष केही सहज भएको भन्दै मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । तलेजु भवानीलाई फूलपातीको दिनदेखि नै मूल चोकमा ल्याइएको छ । मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको थियो । विजयादशमीको दिनसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा गरिन्छ । विजयादशमीको दिन पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिरतर्फ फर्काइने चलन छ ।

