भर्खरै : Sorry, your browser does not support inline SVG.

तामाको छानामा सुनको जलप, विकास निर्माणदेखि सम्पदा पुनःनिर्माणमा देशकै उदाहरणीय भक्तपुर

तामाको छानामा सुनको जलप, विकास निर्माणदेखि सम्पदा पुनःनिर्माणमा देशकै उदाहरणीय भक्तपुर

भक्तपुर । सम्पदा पुनःनिर्माण र विकास निर्माणको क्षेत्रमा भक्तपुर नगरपालिकाले देशकै लागि उदाहरणीय काम गरेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बताएका छन् । भक्तपुरका कालिगढहरूले देशका अन्य जिल्लाहरूको सम्पदा निर्माणमा समेत क्रियाशीलता देखाउनु आफैमा गौरवको कुरा भएको भन्दै प्रसंसा गरे ।

भनपाद्धारा प्रकाशित ‘वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८०’ पुस्तक सार्वजनिकीकरण गर्दै सहयोगीहरूलाई धन्यवादसमेत दिए । वडा नं. ९ सूर्यमढीस्थित वाकुपति चाँगुनारायण मन्दिरको ऐतिहासिक दस्ताबेजसहित उपभोक्ता समितिमार्फत भएका कार्यहरूको अभिलेख सङ्ग्रह रहेको उक्त पुस्तक सार्वजनिकीकरण कार्यक्रममा असल नियतले बहुमत जनताको हित हुने काम गर्नु आफैमा धर्म भएको बताए ।

मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएको उदाहरण दिदै भक्तपुरवासीहरूको ठूलो सफलता सस्कार र सस्कृतिमा भएको बताए । प्रगतिशील भजनले समाजलाई सही दिशानिर्देश गर्ने हुँदा यस्ता गतिविधिहरूलाई समयसापेक्ष अगाडि बढाउनु आवश्यक भएको औल्याए ।

अध्यक्ष बिजुक्छेँले नेपालीसँग भएको मौलिक सीप अरू कसैसँग नभएको र त्यसको जर्गेना भनापाले गरिरहेको दावी गरे । पाटी र मन्दिर निर्माण गर्ने सीप आफैँमा महत्वपूर्ण भन्दै यसलाई पुस्तान्तरण गर्दै जानु आवश्यक रहेको बताए ।

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुरवासी जनता स्वयम् अगाडि सरेको बताए । कामबाट व्यक्तिगत फाइदा लिन नसकोस् भन्ने हेतुले पारदर्शितालाई विशेष जोड दिँदै उपभोक्ता समितिबाट निर्माण कार्यलाई अघिसारेको बताए ।

वाकुपति चाँगुनारायण मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा १५०० भन्दा बढी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएकोमा सहयोगी सबैलाई धन्यवाद दिए । यस्तै बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरका जनताले सार्वजनिक सम्पत्ति संरक्षणमा कहिल्यै सरकारको मुख ताक्ने नगरेको बरु स्वतःस्फूर्तरूपमा आफैँले चन्दा सड्ढलन र जनश्रमदान जुटाई देशकै लागि उदाहरणीय काम गरेकोे बताए ।

सांस्कृतिक गुरुको सम्मानमा राज्यले विभेद गर्दै आएको भन्दै भक्तपुर नपाले वास्तविकरूपमा प्रजातन्त्रको अभ्यास गरी आत्मनिर्भर काम गर्दै आएको बताए । कार्यक्रममा उपप्रमुख रजनी जोशी, इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठलगायतले ऐतिहासिक वाकुपति मन्दिर स्थानीय जनताको आस्थाको केन्द्रको रूपमा रहेको बताए ।

पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धन गर्नु सबैको साझा कर्तव्य र दायित्व भएको भन्दै उनीहरुले सार्वजनिक सम्पत्ति संरक्षण र संवद्र्धनमा भक्तपुरवासी जनताको सहयोग गर्ने मानवीय गुणको सराहना गर्दै सम्पदा संरक्षण र नगरपालिकाका अन्य विकास निर्माणको काममा उपभोक्ता समितिमा बसी इमानदारीपूर्वक काम गर्ने सबैलाई धन्यवाद दिए ।

वाकुपति परिसरमा रहेका अनेक कालखण्डका कलावस्तु, अभिलेखलगायत ऐतिहासिक सामग्रीहरूको अध्ययन विश्लेषण हुन जरुरी रहेको भन्दै एक खुला विश्वविद्यालय, खुला सङ्ग्रहालय र खुला पुस्तकालयको रूपमा भक्तपुर रहेको दावी गरे ।

मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यसँगै वाकुपति चाँगुनारायणको प्राचीनता पत्ता लगाउने काम आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए । दश हजार रूपैयाँभन्दा माथिको आर्थिक सहयोग गर्ने सहृदयी महानुभावहरूलाई धन्यवादज्ञापन पत्र प्रदान गरिएको थियो ।

तामाको छाना र सुनको जलप लगाउने कार्यमा करिब १ हजार ५ सय ४७ जनाले रु. १ करोड १५ लाख ९५ हजार ६ सय २८ रूपैयाँको चन्दा सड्ढलन भएको र आयव्यय विवरण पनि विवरण पुस्तकमा उल्लेख गरिएको छ । कार्यक्रमको बिचबिचमा वाकुपति नारायणको नौ दाफा भजन, भक्तपुर बचत तथा सहकारी संस्थाको बाँसुरी र बीणा, विश्वकर्मा भैल प्याखँको धाँ बाजा, वाकुपति नारायण भजनको प्रगतिशील भजनसमेत प्रस्तुत गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.