सिन्धुपाल्चोक । यस वर्ष पनि मेलम्ची– ९ गुफा डाँडामा तेस्रो राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गुफा डाँडामा जलवायु दिवस मनाउन लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । ‘वातावरण जोगाऔँ पृथ्वीलाई बचाऔँ’ भन्ने नाराका साथ काठमाडौँबाट साइकल यात्रा गरेर जलवायु दिवस मनाउन लागिएको तामाङको भनाइ छ ।
आउँदो पुस १७ गते काठमाडौँबाट मेलम्ची–९ गुफा डाँडासम्म साइकल यात्रा गरी दिवसको सुरुआत गरिनेछ । साथै सो अवसरमा सिन्धुपाल्चोक जिल्लाबाट हालसम्म विद्यावारिधि गर्नेलाई समेत सम्मान गरिने कार्यक्रम छ । सोही दिन बेलुका मेलम्चीमा साइकलयात्री र विद्यावारिधि गरेर सम्मानित भएकाबीच अन्तक्र्रिया कार्यक्रम रहेकोसमेत तामाङले बताए ।
स्थानीय तहका जनप्रतिनिधि र जलवायुसम्बन्धी विज्ञको सुझावका आधारमा जलवायु अनुकूलनसम्बन्धी विशेष योजनासमेत सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने तामाङले जानकारी दिए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गत वर्षमा पनि जलवायु सम्मेलन गरिँदै आएको थियो । त्यसैलाई जलवायु दिवसका रूपमा मनाउन लागिएको तामाङको भनाइ छ ।
बाढी प्रभावितलाई सहयोग
इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले सिन्धुपाल्चोक बाढी प्रभावितका लागि रु १५ लाख सहयोग हस्तान्तरण गर्नुभएको छ । मङ्गलबार मेलम्ची नगरपालिकामा अस्थायी आवास निर्माणका लागि पाँच परिवारलाई रु १५ लाख हस्तान्तरण गर्नुभएको हो । साथै रेडियो मेलम्चीका लागि पनि रु एक लाख सहयोग हस्तान्तरण गर्नुभएको छ ।
यसअघि इन्द्रेणीको सहयोगमा बनेका घरको अवलोकन गर्दै कँडेलले थप पाँच घर निर्माणका लागि रु तीन लाखका दरले १५ लाख हस्तान्तरण गर्नुभएको हो । बाँकी रकम रु तीन लाख ३५ हजार घर बनाइसकेपछि दिइने कँडेलले जानकारी दिए । इन्द्रेणीको सहयोगमा अहिले अस्थायी आवास बनाएका भने खुसी भएका छन् ।
प्राप्त रकम र आफूसँग भएको रकमले तत्कालका लागि अस्थायी आवास निर्माण गरिएको प्रभावितले बताएका छन् । इन्द्रेणीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि रकम सहयोग गर्दै आएको छ । यसअघि हेलम्बुका १७ र मेलम्चीका पाँच परिवारलाई इन्द्रेणीले घर निर्माणको लागि रकम सहयोग गरेको थियो ।
