भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

थारू बस्तीमा माघी, मगर समुदायमा भूम्याको रौनक

थारू बस्तीमा माघी, मगर समुदायमा भूम्याको रौनक

काठमाडौं । तराईका दाङ, बाँके र बर्दिया लगायतका थारू बस्तीमा यतिबेला जताततै माघीको रौनक छाएको छ भने मगर समुदायमा भूम्याको रौनक । थारू समुदायको मुख्य पर्व माघी आइतबार परेकाले थारू बस्ती माघीमय बनेका छन् ।

माघी पर्व आउनुभन्दा साता दिनअघिबाटै माघी पर्वको रमझम सुरु भइसकेको बाँकेको राप्तीसोनारी निवासी हेमन्त चौधरीले बताए । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहारका रूपमा मनाउँछन् ।

थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जायमान भइरहेको जनाउँदै बाँके कोहलपुर मैटहवा निवासी राजेन्द्र चौधरीले थारू बस्तीमा युवा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्न व्यस्त रहेको बताए । दशैँतिहारमा घर नआएका व्यक्ति माघीमा आउने गर्छन ।

यसले थारू बस्तीमा बेग्लै रौनक छाउने गरेको छ । विभिन्न स्थानमा माघी मिलन र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएका छन् । थारू समुदायका अगुवाका अनुसार थारूहरूले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् ।

माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्य आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गर्ने गरिन्छ ।यतिबेला थारू बस्तीका चोकचोकमा युवाको जमघट बढेको जनाउँदै बाहिरबाट आएकाहरू साथीभाइ, आफन्त, इष्टमित्रसँग आत्मीयता साटासाट गर्नमा व्यस्त रहेकाले माघीको रमाइलो माहोल देखिएको छ ।

थारू समुदायमा माघेसङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने चलन छ । बिहान नजिकैको खोला नदीमा नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ ।

आफूभन्दा ठूला मान्यजनलाई सेवाढोग गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यता माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।

माघेसङ्क्रान्तिका दिन छोरीचेलीलाई ‘मिसरा बाँड्ने’ अर्थात् पुज्ने चलन छ । बिहान भाले बासेसँगै उठ्ने र घरमा भएका चेलीबेटीलाई पुजेपछि माघेसङ्क्रान्ति पर्व सुरु भएको मानिन्छ । दाजुभाइले दिदीबहिनीलाई टपरीमा फलफूल, रोटी, तरुल, चामल, दक्षिणा अन्य उपहार दिने गर्छन् ।

यसलाई मिसरा बाँड्ने भनिन्छ । घरका चेलीबेटीलाई पुजिसकेपछि छरछिमेक र गाउँका चेलीबेटीलाई पुजिन्छ । भूम्या मनाउन पुस मसान्तका दिन राँगा तथा खसी–बोका काटिन्छ, कन्दमूल पकाएर खाइन्छ । माघ १ गते घरका छोरीचेली नपुजी अरू कुनै काम सुरु हुँदैन ।

चेलीबेटी पुजिसकेपछि गाउँमा तीर हान्ने प्रतियोगिता सुरु हुन्छ । धनुषवाणमार्फत हरेक टोलमा तारो अर्थात् तीर हान्ने प्रतियोगिता हुने गरेको रोकामगरले जानकारी दिए ।

पुथाउत्तरगङ्गाका १४ वटै र भूमे गाउँपालिकाका धेरै वडामा भूम्या मनाइन्छ । रुकुमपूर्वका विभिन्न स्थानमा मगर समुदायको बाक्लो बसोबास रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.