भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

माघीपर्व मनाउँदै थारू समुदाय

माघीपर्व मनाउँदै थारू समुदाय

काठमाडौँ । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । थारू समुदायमा प्राचीनकालदेखि नै मुखिया छान्ने परम्परालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिने गरिन्छ । माघ १ गते नै यो अभ्यास हुने प्राचीनकालदेखिकै परम्परा छ ।

 


Thali Mobile Pvt.Ltd.