दुई देशका प्रधानमन्त्रीले नेपाल रेल्वेको उद्घाटन गर्दै

दुई देशका प्रधानमन्त्रीले नेपाल रेल्वेको उद्घाटन गर्दै

जनकपुरधाम । तीनदिने भारत भ्रमणमा रहेकै समयमा भारतीय प्रधानमन्त्रीको आवास हैदरावाद हाउसमा आयोजना हुने एक कार्यक्रमकाबीच दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् ।

शनिबार रेल्वेको उद्घाटन गर्ने समय तालिका रहेको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । दुवै देशका प्रधानमन्त्रीले गरेको उद्घाटन कार्यक्रम आम जनतालाई देखाउनका लागि भारतको जयनगर र जनकपुरधामबाट लाइभको व्यवस्था गरिएको छ ।

रेल्वेले जनकपुरधामस्थित स्टेसनमा गेट, पण्डाल निर्माण गरेको छ। जयनगरमा अतिविशिष्ट व्यक्तिहरू मात्रै रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम सिधा देखाइने महाप्रबन्धक झाले बताए । दिल्ली उद्घाटनपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान हुने छ ।

प्रत्येक स्टेसनमा स्कुलका बालबालिकाले नेपाल भारतको झन्डा लिएर रेल्वेको स्वागत गर्ने छन् । रेल कुर्था पुगेपछि भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवलाई चढाएर जनकपुरधामस्थित स्टेसनसम्म ल्याइने छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरसम्म चल्ने रेल दिनको दुई पटक गुडाइनेछ।

जनकपुरधामको कुर्थाबाट पौने ११ बजे रेल्वे जयनगरका लागि प्रस्थान गर्ने सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए । जयनगर पुगेको रेल पुनः ३ बजे फर्केर आउने छ ।

बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले बताए । यो समय रेल्वे नियमित यात्रुहरूका लागि सञ्चालनमा ल्याइनेछ।

 


Thali Mobile Pvt.Ltd.