काठमाडौं । देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्याका बिरामीहरूको चाप बढेको छ । आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनाबढी आउने गरेको तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले बताइन् ।
भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको उनको भनाइ छ । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेका छन् । यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको डा. अधिकारीले बताइन् ।
उनले भनिन, ‘आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । जुन समुदायमा इपिडिमीक रूपमा फैलिन्छ । त्योचाहिँ भाइरल इन्फेक्सनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ ।’ आँखा पाक्ने रोगका साथमा रुघाखोकी र ज्वरो पनि आउन सक्छ ।
गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्ने बताउँदै अधिकारीले भनिन्, ‘धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ ।
धेरैजसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ ।
कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्न सक्छ ।’ भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने भन्दै आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् ।
