भर्खरै : Sorry, your browser does not support inline SVG.

द्रुत बस सञ्चालनको तयारी तीब्र, सूर्य विनायक–रत्नपार्क सडक खण्डमा सञ्चालन

द्रुत बस सञ्चालनको तयारी तीब्र, सूर्य विनायक–रत्नपार्क सडक खण्डमा सञ्चालन

काठमाडौँ । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसको तयारी स्वरूप सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ । यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ ।

यस सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । नेपालै पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएपछि सेवाग्राही खुशी भएका छन् । सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालन जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार लेनमा दुई दुई सय मिटरमा रेड मार्क गरिएको छ । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएको उनले बताए । त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् ।

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने उनले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन,ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने । हाललाई यस्ता बसमा द्रुतसेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने ।

‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौँ । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने । संसारभर सार्वजनिक यातायातलाई प्राथमिकता दिन द्रुत बस सेवा सञ्चालन गर्ने प्रचलन रहेको छ । नेपालमा पनि ४० सिट भन्दा माथिका बस सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।

द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति बनाएको थियो । सो समितिले सूर्यविनायक(रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । त्यही सुझावका आधारमा डेडिकेटेड लेनसहितको द्रुत बस सेवा सञ्चालन थालिएको पोखरेलले बताए ।

द्रुत सेवा सञ्चालनका लागि तीन मिटरको डेडिकेटेड लेन नै छुट्याइएको छ । ‘सूर्यविनायकदेखि मनोहरा पुलसम्म सडकको बायाँ लेनलाई डेडिकेटेडमा रुपान्तरण गरिएको छ । मनोहरा पुलदेखि माइतीघरसम्म सर्भिस लेनलाई नै डेडिकेटेडमा परिणत गरिएको छ र माइतीघरदेखि रत्नपार्कसम्म वानवे भएकाले दायाँपट्टीको लेनलाई डेडिकेटेडमा परिणत गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.