धादिङ केन्द्रबिन्दू भएर भूकम्प गयो,प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न अनुरोध

धादिङ केन्द्रबिन्दू भएर भूकम्प गयो,प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न अनुरोध

काठमाडौं । बिहान ७ बजेर ४० मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्पविद्ले बताएका हुन । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।

यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन राष्ट्रिय भूकम्प मापन केन्द्रले आग्रह गरेको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न अनुरोध गरेको छ । भूकम्पका कारण क्षति भए नभएकोबारे विवरण आउन बाँकी छ ।

यसअघि गएको असोज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक–पटक भूकम्प गएको थियो । गएको २ गते राति बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसैगरी, असोज १६ गते ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बझाङमा लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको बेला धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए । अहिले उनीहरु खुला ठाउँमा बसिरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.