धुँवा धुलो प्रदूषण युक्त भक्तपुरका उद्योग स्थानान्तरण गर्न पहल गर्छु: प्रजिअ भट्टराई

धुँवा धुलो प्रदूषण युक्त भक्तपुरका उद्योग स्थानान्तरण गर्न पहल गर्छु: प्रजिअ भट्टराई

भक्तपुर । भक्तपुर नगरपालिकाको कार्यशैली उदाहरणीय रहँदै आएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले शान्ति सुरक्षा र भक्तपुरबासी जनताको स्वास्थ्य सुरक्षामा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

उपत्यकाका तीन सहरहरू विश्वको उत्कृष्ट सहर भएको भन्दै प्रजिअ भट्टराईले भक्तपुर औद्योगिक क्षेत्रबाट भएको धुँवा धुलो प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्ने विषयमा आफू सकारात्मक मात्रै होइन, पहल समेत गर्ने बताए । सार्वजनिक सम्पत्ति रक्षा गर्न सँधै तत्पर रहेको विश्वास व्यक्त गर्दै उनले भक्तपुर नपाले कोरोना रोकथाम र नियन्त्रणमा गरेका गतिविधिहरू उल्लेखनीय भएको बताए ।

धनुषा जिल्लाबाट सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नगरपालिकाले गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन । बुधबार भव्य कार्यक्रममा आयोजना गरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजिअ भट्टराईलाई भादगाउँले टोपी लगाइदिएर सांस्कृतिक शहरमा स्वागत गरे ।

भक्तपुर नगरपालिकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखी सामूहिक हितको निम्ति काम गर्दै आइरहेको जानकारी दिदै नगरप्रमुख प्रजापतिले सल्लाघारीमा अवस्थित १०८ रोपनी जग्गाको संरक्षण र सम्बद्र्धन गर्दै आइरहेको बताए । भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकार मातहत सञ्चालन हुनु सकारात्मक रहेको भन्दै प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्रबाट हुने धुँवा, धुलो, प्रदूषणबारे पीडित जनताले लामो समयदेखि गुनासो गर्दै आइरहेको बताए ।

जनताको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको उद्योग स्थानान्तरणको लागि पहल भइरहेकोे भन्दै सांस्कृतिक नगर भक्तपुरका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार विदेशी सहयोग विना नै जनताको सहयोग र जनश्रमदानमार्फत भइरहेको बताए । जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले नै जनताको बढी सेवा गर्न सकिने धारणा समेत राखे ।

ऐतिहासिक नगरको रुपमा ख्याति कमाइरहेको भक्तपुरलाई सफा, स्वच्छ, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको उपप्रमुख रजनी जोशीले बताईन् । वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको पनि उपस्थिति रहेको सो कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ भट्टराईलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नगरपालिकाका प्रकाशन उपहारस्वरुप प्रदान गरेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.