काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार बुझाएको रायसहित प्रतिवेदन अध्ययन गरी अभियोजन दर्ता गर्ने तयारी गरेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको घटना अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रहरीको रायकै आधारमा अभियोजन दर्ता हुने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताए ।
पक्राउ परेका १६ जना र फरार रहेका १७ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । संगठित अपराध र राज्यविरुद्धको अपराधमा प्रहरीले मुद्दा चलाउनुपर्ने राय दिएको छ । पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ ।
ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउने तयारी गरिएको छ । घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाखबढी ठगी भएको उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।
प्रकरणका योजनाकार केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो । प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण,
एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहितका १६ जना पक्राउ परेका छन् ।
यसैगरी शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।
