नगरकोटलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउँनका निम्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रर्वद्धनका कार्यक्रम गर्ने साेच बनाएकाे नगरकाेट नगरकोट नाल्दुम पर्यटन विकास समितिले विगतदेखि नै सक्रिय सहभागिता गरिरहेकाे छ । नगरकाेटकाे विकासका लागि हदैसम्मकाे पहल पनि गरिरहेकाे छ । सरकारी क्षेत्रबाट झाडाटार्ने कार्य भएपनि नीजिक्षेत्रबाट पूर्णरूपमा पर्यटनमा लगानी केन्द्रीत भइरहेको छ । यसै विषयमा केन्द्रीत भएर कैलाश खबरकर्मी विनाेद कुमार विश्वकर्माले नगरकाेट नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गरूङसंग गरेकाे कुराकानीकाे सारसंक्षप यहाँ प्रस्तुत गरिएकाे छः सम्पादक
यहाँ लाई स्वागत छ ।
धन्यवाद
अहिले पर्यटकीय रुपमा नगरकोटको अवस्था कस्तो छ ?
नगरकोट आन्तरिक तथा विदेशी पर्यटकहरु घुम्ने थलोका रुपमा रहेको छ । कोरोना कहरपछि यहाँ आन्तरिक पर्यटकहरु अधिक थिए । कारण गर्मी छल्नका लागि उपयुक्त ठाउँ हो ।
उपत्यकाबाट नजिकैको पर्यटकीय गन्तव्य भएको हुनाले र प्राकृति सुन्दरताले असाध्यै भरिपूर्ण भएकाले पनि होला यहाँको मनोरम दृश्यको अवलोकन गर्न पहिले कै जसरी अहिले विदेशी पर्यटकहरु भरिन थालेका छन् ।
कारण के होला ?
कारण यहाँ रमाइलो छ । शितल छ । यहाँ सुन्दरतासंगै हावापानी राम्रो छ । शान्त वातावरणमा रमाउन चाहनेका लागि उत्कृष्ठ ठाउँ छ ।
बाटो छैन, पानी छैन भन्ने खालको अवस्था पनि त छ नि ?
बाटोको समस्या छैन । कही कहि कतै खाल्डा खुल्डी हुन सोभाविक हो । त्यो पनि ठेकेदारका कारण भएको हो । त्यसले पर्यटनमा असर परेको छैन । ६० को दशक भन्दा अगाडि जुन पर्यटनको सुरुवात भयो नगरकोटमा । त्यति बेला पर्यटकलाई सडकको सुविधा थियो । तर यहाँ आउने सवारी साधनको सुविधा थिएन ।
पछिल्लो समय विभिन्न ट्राभल एजेन्सी मार्फत र स्वयम् भ्रमणमा आउने पर्यटकहरुले आफ्नै सवारी साधन लिएर आउने भएकाले पर्यटहरुलाई नगरकोट आउन कुनै समस्या छैन । विगत केही वर्ष अघि कमलविनायकदेखि नगरकोटसम्म सडक बाटो विग्रेको अवस्था थियो ।
तर अहिले यो सडक निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । अर्को नगरकोट आउने बैकल्पिक सडकहरु पनि बनिसकेका छन् । कलमसी भ्यूटावर हुदै नगरकोट आउने सडकको अवस्था पनि राम्रो छ । त्यसकारण अहिले नगरकोटसम्म आउन पर्यटकहरुलाई कुुनै समस्या छैन ।
विगतको अवस्था सम्झिदा नगरकोट नाल्दुम पर्यटन विकास समितिले के हेरेर बसेको होला ? बाटो, विद्युत, खानेपानीको अवस्था पनि त्यस्तै छ भन्ने लाग्थ्यो अहिले त्यो प्रश्नले उत्तर पाएकै हो त ?
पक्कै पनि । नगरकोट नाल्दुम पर्यटन विकास समितिको स्थापना २०५३ सालमा भएको हो । जव पर्यटकहरु यहाँ आउँन थाले त्यसपछि व्यवसायीहरुले होटलमा लगानी गर्न थाले । त्यो समय न त त्यहाँ विद्युतको सुविधा थियो न टेलिफोनको सुुविधा ।
त्यसमा पानीको भने त्यति समस्या थिएन । विस्तारै पर्यटकीय होटल तथा रिसोर्टहरु बने त्योसंगै विभिन्न निकायमा समस्या समाधानका लागि विभिन्न माग लिएर नगरकोट नाल्दुम पर्यटन विकास समतिको नेतृत्वमा पहलको सुरुवात भयो ।
समितिका पदाधिकारीहरुको त्यो बेला निकै ठूलो योगदान रहन पुग्यो । उहाँहरुको योगदानले आज सोचेजस्तो सुविधा दिन सकिएको छ । अहिले पर्यटन सडक भनेर नगरकोट भित्रै लिंक रोडहरु पनि कालोपत्रे हुन पुगेका छन् । केही ठाउँमा ग्रावेलिङ्गको कार्य भइरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
अहिले नगरकोटलाई कसरी लिनुभएको छ ?
नगरकोटलाई उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्नको निमित राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रर्वद्धनका लागि कार्यक्रम बनाउँदैछौं । संसारका मानिसलाई नगरकोट चिनाउँने अभियान अन्तरर्गत अहिले नगरकोट नाल्दुम पर्यटन विकास समिति लागि परेको छ ।
यो कार्यका लागि पर्यटन विकास समितिका पदाधिकारी र पर्यटन व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको छ । निकट भविष्यमा नै हामी सफल्तामा पुग्ने छौं भन्ने हामीलाई लागेको छ ।
पर्यटनका निम्ति व्यवसायीले पेशा छोडेर, कामदारले टायर बालेर सडक आन्दोलन गर्ने दिन अब फेरी आउलान् कि सकिए ?
अब त्यस्तो दिन आउँदैनन् भन्ने लाग्छ । त्यो त परिस्थिति र समयको माग थियो । त्यो बेला शैलुङ कन्स्ट्रक्सन कम्पनीले कमलविनायक–नगरकोट सडक निर्माण कार्य समयमा सम्पन्न नगरेर म्याद मात्रै थप्ने, काम सिन्को नभाँचेका कारण पनि आन्दोलन गर्नु परेको अवस्था थियो ।
सरकारी निकायले पनि कुनै वास्ता नगरेको हुदा निर्माण व्यवसायीको कम्जोरीमा जनताको साथ दिएका थियौं । बारम्बार पर्यटकहरुले धेरै दुःख पायौं भनिरहेको अवस्था र स्थानीयले धेरै दुःखपाएपछि गरेको आन्दोलनमा एक्यूवद्धता जनाएर त्यो कार्यमा हाम फालेका थियौं । मन्त्रालय, नगरपालिका, ढलनिकास आयोजनाका कार्यालयदेखि धेरै ठाउँमा धाउँनै सम्म धायौं ।
अनुरोध ग¥यौं तर पनि कुनै सिप नलागे पनि अन्तमा टायर बालेर आन्दोलनमा उत्रिएका थियौं । २०७४ को चुनावपछि स्थानीय सरकारको आगमन भयो । अब नगरकोटलाई एउटा उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा स्थानीय सरकारले पहलकद्मी लेला भन्ने आश थियो । त्यसले पनि केही कार्यक्रम ल्याए तर, नगरकोट आउने पर्यटकहरुबाट प्रवेश शुल्क लिन थाल्यो ।
पर्यटकले दुखेसो पोखे त्यसपछि फेरी स्थानीय सरकारसंग आन्दोलन थाल्यौं । मान्नु भएन बाध्य भए पर्यटन विकास समितिले जनसहभागितामा टायर बाल्नु परेको थियो । नगरकोटको गलत सन्देश पर्यटकमाझ नपुगोस भन्ने थियो ।
तर त्यो आन्दोलनले सिंगो नेपालकै गलत सन्देश जाने भएपछि बाध्य भएर स्थानीय सरकारले शुल्क नलिने निधो ग¥यो । त्यो आन्दोलनमा हामी सफल भयौं । त्यसैले अहिले हामी नगरकोटलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउँन लागि परेका छौं ।
उत्कृष्ट पर्यटकीय गन्तव्यमा किन राज्यको नजर नपुको होला ? तर राज्यका उच्चपदस्थ व्यक्तित्वहरु नगरकोट घुम्न र बास बस्न लालायित हुन्छन् । यसमा स्थानीय नगरपालिकाको सर्पोट कस्तो छ ?
प्राकृतिक सुन्दरताले भरिएको ठाउँ त एकातिर छ । तर, त्यहाँ आउँने पर्यटकहरुले भौतिक पूर्वाधार विकास नभएको भनेर कुरा गर्न थाल्छन् । यो ठाउँ चार वटा नगरपालिकाको संगम स्थल पनि हो । नगरकोट चाँगुनारायण, मन्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिका मध्य कसले लगानीगरेर विकास गर्ने ?
भन्ने कुरा उहाँहरुबीच समजदारी भएको छैन । नगरकोटलाई साझा पर्यटकीय गन्तव्य बनाउँन चार वटै नगरपालिकाको साझेदारी हुन आवश्यक छ । नयाँ र एकीकृत नगरकोट बनाउँने रणनैतिक योजना बनाएर नगरपालिकाहरु अगाडि बढ्नु पर्छ भन्ने हाम्रो समितिको चाहना छ ।
त्यही अनुसार चौथो पटक नगरप्रमुख,उप–प्रमुख, सम्बन्धित वडाअध्यक्षहरुसंग बसेर पर्यटन र सीमानाका विषयमा छलफल गरेका छौं । नगरको कति भूभाग छ ? सरकारी जमिन कति हो ? भन्ने विषयमा चारै नगरपालिकासंग समन्वय गरेका छौं । यसमा नगर प्रमुखहरुले चाँसो दिनु भएको छ ।
जनप्रतिनिधिमा अब नगरकोटको विकासबीना पर्यटन सम्भव छैन भन्ने बुझाई छ कि छैन ?
स्थानीय सरकार आइसकेपछि यहाँ भौतिक पूर्वाधारको विकास गरिदिए हुन्थ्यो । अर्को कुरा व्यवसायीलाई लगानी गर्ने वातावरण र सुरक्षाको प्रत्याभूत दिलाइदिए हुन्थ्यो । नगर भित्रको स्रोत साधनलाई सही प्रयोग गरेर आर्थिक रुपमा नरग सच्छम भए हुन्थ्यो ।
आर्थिक रुपले नगरपालिका सम्पन्न भए अन्य विकास पनि हुन्छ । त्यो हिसावले लगानीकर्ता र स्थानीयबीच समन्वय र साझेदारी हुन आवश्यक छ । यसरी अगाडि बढ्न सकियो भने मात्रै त्यो ठाउँ समृद्ध हुनसक्छ । त्यसमा हामीले पहल गरिरहेका छौं । वडा अध्यक्षहरु पनि युवा भएको नाताले सबै सकारात्मक छन् भन्ने बुझाइ हाम्रो छ ।
नगरकोटमा जतिपनि प्राकृतिक स्रोतसाधन छ ती स्रोत साधनलाई व्यवसायीले लुटेका छन् भन्ने आरोप छ नि ? यो आरोपलाई पर्यटन विकास समितिले कसरी लिन्छ ? यो भ्याली नजिकैको सुन्दर पहाड हो । नगरकोट समुद्री सतहबाट साढे सात हजार फिट अग्लो पहाड हो ।
पहाडमा प्राकृतिक सुन्दरता धेरै छन् । वनजंगल एकदमै राम्रो छ । ऐतिहासिक ठाउँहरु प्रसस्तै रहेका छन् । चराचुरङ्गी र जनावरहरु पनि अधिक छन् । केही पुराना पर्यटन व्यवसायीहरुले त्यो बेला जमिनको एकिन साइज जानेर वा नजानेर आफ्नो संरचना बनाउँदा सानो अंश सरकारी जमिन पनि मिचिन पुगेको थियो ।
त्यो बेला नै नगराकोटमा व्यवसायीले सरकारी जग्गा मिचेर ठूलाठूला संरचना बनाए भन्नेका खालाका समाचार बाहिरिएका थिए । त्यसैले यो विषयमा आरोप धेरै आएका थिए । तर, त्यसको निराकरण र समाधानका लागि सम्बन्धीत निकाय कानमा तेल हालेर बसेपछि अरु कसले के गर्ने ?
प्रकृतिलाई देखाएर कमाउने माध्यम त बन्यो तर, नगरकोटका व्यवसायीहरु नै नगरकोट बनाउन अघि बढेनन् भन्ने पनि छ नि ?
सामाजिक सेवा नीतिगत कुरा हो । व्यवसायीले व्यवसाय गरेर नाफा कमाएपछि त्यसको १ प्रतिशत स्थानीय समाजमा लगानी गर्नैपर्छ । त्यहि अनुसार केही ठुला होटलहरुले नगरेका पनि होइनन् । धेरै गरेका छन् । नाकाबन्दीको समयमा पनि स्थानीय नागरिकलाई समस्या पर्दा सहयोग गरेकै हुन ।
भूकम्पमा पनि स्थानीय नागरिकलाई व्यवसायीहरुले सहयोग गरेकै हुन । खाद्यान्न, लत्ताकपडालगायत आर्थिक सहयोग पनि गरेका थिए । तर समस्या नभएको होइन, समस्या समाधान गर्ने निकाय चुप बसिदिनाले निकाश मात्रै ननिस्किएको हो ।
उदाहरणका लागि नीजि र सरकारी जमिन सम्बन्धित निकायले नाँप–जाँच गरेर छुट्याउन सक्छ । कसैले सरकारी जग्गाको दुरुपयोग गरेको भए कारबाही गर्न पनि सजिलो हुन्छ । यस विषयमा स्थानीय सरकारले ध्यान दिएको भए राम्रो हुन्थ्यो ।
अहिले स्थानीय, प्रदेश र केन्द्र गरी तीन सरकार छन्, ति सरकारको ध्यान नगरकोटतीर छ कि छैन ?
सरकारको ध्यान नगरकोटमा छैन भन्दा नै उपयुक्त हुुन्छ । ठूला–ठूला निर्णयहरु नगरकोटमै बसेर गर्छन् । उच्चओहदामा पुगेका सांसद, मन्त्री यहाँ आउँछन् । रात विताएर जान्छन् । तर सरकारले नगरकोटमा पूर्वाधार विकासमा खासै चासो दिदैन ।
२०७४ मा स्थानीय सरकार आएपछि केही विकास भएको भने पक्कै हो । अहिले स्थानीय नगरपालिका र प्रदेश सरकारको साझेदारीमा केही संरचनाहरु भने बनिरहेका छन् । विभिन्न ठाउँमा सार्वजनिक सौचालय निर्माण, पर्यटकहरुलाई विश्रामस्थल निर्माण गर्ने कार्य भइरहेका छन् । यतिमात्रै होइन, विभिन्न पदमार्गहरु समेत निर्माण भइरहेको अवस्था छ ।
नगरकोटमा कस्ता खाले होटलहरु निर्माण भएका छन् ?
यहाँ पछिल्लो समय राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा आकर्षित गर्ने खालका होटल संरचनाहरु मिमार्ण भइरहेका छन् । विशिष्ट खालको सेवा सुविधासहित होटल तथा रिर्सोटहरु सञ्चालनमा छन् । साना होटबाट व्यवसाय सुरु गर्नुभएका व्यवसायीहरुले पनि स्तर उन्नती गरेर अघि बढिसकेका छन् ।
नगरकोटमा क्लव हिमालय रिर्सोट, मिष्टिक माउण्टेनलगायत राम्रा होटल तथा रिर्सोटहरु छन् । जहाबाट हिमाल अनि सनसाइजको दृश्य देख्न सकिन्छ । २४ सै घण्टा सेवा दिने रिर्सोटहरु रहेका छन् । यहाँका रिर्सोटहरुले आकर्षक सेवा सुविधा पनि उच्चस्तरकै दिइरहेको छन् । राम्रा बुटिक टाइपका संरचना निर्माण भएका छन् । अधिकतम रिर्सोटहरु निर्माणाधिन अवस्थामा रहेका छन् । आउँदा वर्षभित्र अझ राम्रा रिर्सोटहरु बन्ने क्रम पनि सुरु हुदैछन् ।
अन्तमा पर्यटन विकास समितिका भावि योजना के छन् ?
नगरकोटका दुई–तीनटा चुनौती छन् । एउटा खानेपानीको समस्या अर्को फोहोर मैला व्यवस्थापनको समस्या । तेस्रोमा शाखा सडकहरु पर्यटकमैत्री बनाउनुको समस्या । तर अहिलेको खास समस्या भनेको फोहोर मैला व्यवस्थापन र पानीको समस्या हो ।
नगरपालिकासंग मिलेर दीर्घकालिन रुपमा फोहोरमैला व्यवस्थापन गर्नुपर्छ भनेर लागि परेका छौं । गुरुयोजना तयार गरेर नै जानुपर्छ भन्नेमा छौं । मन्डनदेउपुर नगरपालिकाले भने फोहोरमैला व्यवस्थापनका लागि दुई करोड बजेट व्यवस्था गरेको छ ।
मण्डनदेउपुर नगरपालिकाले आफ्नै लगानीमा डिपीआर पनि तयार पारिसकेको छ । खानेपानी लागि अहिले नाल्दुम बृहत लिफ्ट खानेपानी आयोजनना भनेर ३३ करोडको लागतमा निर्माणकार्य चलिरहेको छ । नगरकोटमा पर्यटकीय गतिविधिलाई तीव्रता दिने हिसाबले पर्यटन विकास समिति लागिपरेको छ ।
व्यस्तताकैबीच समय दिनुभयो कैलाश खबरका तर्फ बाट धेरै धेरै धन्यवाद ।
मेरो विचार र नगरकोटको पर्यटन विकासका कुराहरु आम जनताकोबीच प¥याउने अवसर दिनु भयो त्यसको लागि कैलाश खबर परिवारलाई विशेष धन्यवाद ।
