भर्खरै : Sorry, your browser does not support inline SVG.

निर्वाचन आचारसंहिता संशोधन, समानुपातिकको बन्दसूची प्रकाशन गरिदै

निर्वाचन आचारसंहिता संशोधन, समानुपातिकको बन्दसूची प्रकाशन गरिदै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पहिलो संशोधन गरेको छ । सामान्य त्रुटि सुधारका अतिरिक्त मूल आचारसंहिताको दफा ५ र अन्य दफामा केही संशोधन भएको आयोगले जनाएको छ ।

संशोधित आचारसंहितामा ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचारण’ का सम्बन्धमा प्रतिबन्धात्मक वाक्यांश थप स्पष्ट बनाइ निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रसारप्रसारमा संलग्न हुनसक्ने प्रबन्ध गरिएको छ ।

यस्तै नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीले आयोगको सहमति लिइ त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका काममा संलग्न हुनसक्ने छन् ।

स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुनसक्ने र नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचनको प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

बन्दसूचीको सूचना ५ बजेसम्म प्रकाशन गरिने
समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना आज ५ बजेसम्म प्रकाशन गर्ने कार्यक्रम रहेतापनि राति अबेरसम्म प्रकाशन हुने आयोगले जनाएको छ । आयोगले दलबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिएको थियो ।

असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस भएको छ । ती नामसहित प्रतिनिधिसभा र प्रदेशसभामा गरी छ हजार चार सय ९३ जना उम्मेदवार रहेका छन् ।

निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड, ७९ लाख ८८ हजार ५ सय ७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार ८ सय ६ र महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार ५ सय ७९ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.