नेपाल बन्दकाे प्रभाव देशभर

नेपाल बन्दकाे प्रभाव देशभर

काठमाडौं । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको भन्दै नेकपाले नेपाल बन्दको गरेपछि त्यसको प्रभाव देशभर परेको छ ।

सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन पार्टीले अपिल गरेपछि विहानै देखि सडकमा फाट्ट फुट्ट बाहेक सवारी साधन चल्न सकेका छैनन् ।

कतै टायर बालिरहेका दृश्य देखिएका छन् त कतै मसाल जुलुश गरिरहेको दृश्य देखापरेका छन् । बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।

बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.