ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् । अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन् ।
नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन् । नयाँ प्रविधिबाट व्यवसायीले तेल उत्पादनलाई वृद्धि गरेका छन् । परम्परागत कोलमा मेहनत धेरै चाहिने र जनशक्ति पनि अलि बढी चाहिने भएकाले परम्परागत कोल प्रयोगमा नआएको व्यवसायी बताउँछन् ।
हाल खोकनामा सामुदायिक रुपमा सञ्चालित गाबु ज्या स् सा सामुदायिक तेल मिल, न्हबु सामुदायिक तेल मिल, खअधोकासी सामुदायिक तेल मिल र न्हु सामुदायिक तेल मिल छन् । अहिले गाबु ज्या स् सा सामुदायिक तेल मिल मात्र सञ्चालनमा छ ।
गाबु ज्याः सामुदायिक मिल हजुरबुबाको परम्परादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन् । हाल खोकनामा अन्य विद्युतीय मिल धेरै भए पनि ऐतिहासिक रुपमा रहेको परम्परागत मिल एउटा मात्र सञ्चालनमा छ ।
मौलिकतालाई बचाउनको लागि ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा चार सामुदायिक तोरी पेल्ने मिल भवन निर्माण गरेको छ । उनका अनुसार दुई भवन निर्माण भइसकेको तर दुई वटा निर्माणको तयारीमा छ । नयाँ निर्माण भएका भवनमा मौलिकतालाई कायम राखी व्यवसायलाई थप वृद्धि गर्ने लक्ष्य राखिएको छ । खोकनाको तेल मिसावटरहित हुन्छ भन्ने विश्वास रही आएको छ ।
