काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच अमेरिकाको वासिङ्टनमा भेटघाट भएको छ । हिजो बुधवार भएको भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो ।
साथै नेपाल र अमेरिकाबीचको संसद्को अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गएको सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाट्यस (टीपीएस) मार्फत् स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ ।
सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री साउद अहिले अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।
