भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

पशुपतिनाथ मन्दिरः जलहरीको डेढ किलो सुन लुकाइएको पुष्टि

पशुपतिनाथ मन्दिरः जलहरीको डेढ किलो सुन लुकाइएको पुष्टि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको पुष्टि भएको छ । परम्परादेखि चाँदीको जलहरी रहेकोमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अदालतको आदेश छलेर हतारहतार पशुपतिनाथ मन्दिरको गर्भगृह (ज्योतिर्लिङ्ग)मा सुनको जलहरी चढाएको थियो ।

हतारमा काम गर्ने मौका पारेर करिब डेढ किलो सुन गायब बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले पुष्टि गरेको हो । २०७७ माघ १२ मा पशुपतिनाथ मन्दिर पुगेर ‘संकल्प पूजा’ गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने प्रक्रिया अघि बढाउन कोषका पदाधिकारीलाई निर्देशन दिएका थिए ।

बजेट व्यवस्थापन, सुन खरिद र जलहरी निर्माण एक महिनाभित्रै सकेर फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेकी थिइन् । राज्यको ढुकुटीबाट ३० करोड र पशुपति क्षेत्र विकास कोषबाट ५० करोड ११ हजार खर्चेर जलहरी बनाइएको थियो । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७ सय ७३ ग्राम सुन र त्यसमा चाँदी, तामा र जिंक मिसाएर करिब १०७ किलो ९२४.७५ ग्रामको जलहरी बनाउने निर्णय भएको थियो ।

उद्घाटनको अघिल्लो दिन गरिएको मुचुल्कामा जलहरीमा सुनको परिमाण ९६ किलो ८ सय २२ ग्राम रहेको अभिलेख छ । तोकिएको परिमाणभन्दा कम तौलको जलहरी राखिएको भन्दै अख्तियारमा उजुरी परेपछि । सुन गायब गरिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढायो । त्यो बेला कोषले करिब ११ किलो सुनको छुट्टै रिङ बनाइएको प्रस्टीकरण दिएको थियो ।

अनुसन्धानले तीब्रता पाएपछि हतारहतार रिङ बनाइएको भनेर तत्कालै प्रश्न उठेको थियो । अनुसन्धानकै क्रममा अख्तियारले गत असारमा जलहरी निकालेर जोख्दा १ सय ७ किलो ४ सय ६८ ग्राम तौल निस्किएको थियो । त्यस क्रममा कोषले दाबी गरेको भन्दा जलहरीको तौल करिब आधा किलो कम भएको थियो ।

तौल करिब उत्ति नै भए पनि सुनमा अन्य धातु मिसावट गरेर भ्रष्टाचार गरिएको निष्कर्ष अख्तियारले निकालेको छ । जलहरी बनाउँदा पदाधिकारी र कर्मचारीको मिलेमतोमा १ किलो ४ सय ९१.७१८ ग्राम सुन हिनामिना गरेर मिसावट गरिएको अख्तियारको अभियोजनपत्रमा उल्लेख छ ।

अख्तियारले करिब २ वर्ष लगाएर अनुसन्धान गर्‍यो, जलहरी निर्माण गर्दा सुनको नाममा मिसावट गरिएको पुष्टि भयो । यसमा कोषकै पदाधिकारी र र कर्मचारीको मिलेमतो स्पष्ट देखियो । अख्तियारका प्रवक्ता भोला दाहालले भने, ‘तथ्य र प्रमाणले पुष्टि गरेअनुसार कसुरदारलाई बिगो, कैद र जरिवानाको मागदाबी लिएर अभियोगपत्र अदालतमा दायर भएको छ ।’

 


Thali Mobile Pvt.Ltd.