भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा रु एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो ।

गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । गाउँपालिकाले ४० मुरी वा सोभन्दा बढी धान फलाउने तथा कम्तीमा २० फिट लम्बाइ र चार फिट चौडाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

कृषक प्रोत्साहन कार्यविधिअनुसार यतिका कृषि उपज एकै परिवारले उत्पादन गर्नुपर्ने व्यवस्था थियो । कृषि उपज उत्पादनको मात्रा वृद्धि गर्न गाउँपालिकाले तय गरेको नीतिअनुसार पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् । मकै उत्पादकतर्फ वडा नं १ का तीन, वडा नं २ का चार, वडा नं ३ का १०, वडा नं ५ का तीन, वडा नं ६ का पाँच, वडा नं ७ का सात र वडा नं ८ का २७ कृषकले पुरस्कार पाएका हुन् ।

यस्तै धान उत्पादकतर्फ वडा नं २ का सात, वडा नं ३ का १४, वडा नं ४ का १४, वडा नं ५ का १८, वडा नं ६ का सात र वडा नं ७ का सात कृषकले पुरस्कार पाएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको महामारी र बन्दाबन्दीसँगै कृषकलाई कृषि उपज उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिकाले मापदण्ड तय गरी पुरस्कार दिने नीति लिएको थियो ।

गत वैशाख अन्तिम साता बसेको गाउँ कार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरू परम्परागत बालीका रूपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए । एकै परिवारले भाडा वा अन्य शर्तमा अर्काको जमिनमा तोकिएको मात्रामा धान र मकै उत्पादन गरे पनि पुरस्कार दिने गाउँपालिकाको निर्णयले कृषकलाई हौस्याएको थियो ।

गाउँपालिकाले ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णयसमेत गरेको थियो । उक्त मापदण्डानुसारका दाबीको गाउँपालिकाको अनुगमन समितिले अनुगमन गरिरहेको बताइएको छ । वास्तविक उत्पादकले मात्रै पुरस्कार प्राप्त गर्ने व्यवस्थाका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिक सम्मिलित अनुगमन टोली निर्माण गरेको थियो ।

नियमित अनुगमनमा तोकिएको मात्रामा अन्न उत्पादन गर्न सफल भएका कृषकलाई पुरस्कृत गर्न सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा गाउँपालिकाले कृषकलाई पुरस्कृत गरेको हो । आगामी आर्थिक वर्ष कृषक प्रोत्साहन पुरस्कारसम्बन्धी मापदण्डलाई थप परिमार्जित गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कृषक प्रोत्साहन नीतिले कृषकलाई दोहोरो फाइदा भएको छ । पुरस्कार प्राप्त गर्न कृषक उत्पादन वृद्धिका लागि लागिपर्दा उनीहरुका परिवारलाई वर्षभरि खान पुग्ने अन्न उत्पादन भएको छ भने १२५ जनाले रु एक लाख रकम प्राप्त गरेका छन् । एकैपटक रु एक करोड २५ लाख कृषकका हातमा पुगेको छ ।

अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको मिक्लाजुङमा अन्य स्थानीय तहको तुलनामा सिँचाइको समेत राम्रो व्यवस्था छ तर खेतीयोग्य जमिन बाँझिदै गएकाले गाउँपालिकाले प्रोत्साहनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.