काठमाडौं । दहेजको रुपमा अझैपनि महिला जिउदै जलाईनु पर्ने, हत्याहिंसाका घटना बढिरहनु पर्ने, महिला राष्ट्रपति हुदा समेत टुलुटुलु हेरेर बस्ने अवस्था रहिरहे देश भयावह स्थितिमा पुग्ने देखिन्छ । जव सम्म महिला आर्थिक समानता र आफै केहि गर्न सक्ने अवस्थामा आउदैनन् तवसम्म राज्यले नजिकबाट हेर्न जरुरी छ भन्छन् ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल ।
साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५ सय ७९ मत अन्तरले हराएर १९ हजार ८ सय १९ मत प्राप्त गर्दै नेपाली काँग्रेसका तर्फबाट उपमेयर निर्वाचित भएकी गीता सत्याल ललितपुरको उप मेयर हुदा समग्र पक्षका बारेमा कैलाश खबर डटकमले कुराकानी गरेको छ । शिक्षित परिवार, शिक्षित समाज र सहरबजारका कुरा गर्दा अझै महिलाले राजनीति गर्नु हुँदैन भन्ने मान्यता राख्छ भने ग्रामिण क्षेत्रका महिलाको अवस्था झन कस्तो होला ?
कल्पना वाहिरको कुरा हो । विभिन्न आन्दोलन र क्रान्ति भए, ती आन्दोलनमा महिलाले खेलेको अथक संघर्षले गर्दा आज संविधानमा नै महिलाका हक अधिकार स्थापित भए तर कानूनको कार्यान्वयन फितलो भइदिदा आज देशले यस्तो अवस्था भोग्नु परेको उनको भनाई छ । पद्मकन्या क्याम्पसबाट राजनीति सुरुवात गरेकी उनले ललितपुरको उपमेयर बन्दा सम्म निकै संघर्षको पापड बेल्लु परेको अनुभव संगालेकी छन् ।
राजनीतिसंग संगै महिला सशक्तिकरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उज्याली महिला सहकारी संस्था सञ्चालन गरेर महिलालाई सशक्तिकरण र सवलिकरण गर्नमा महत्वपूर्ण भूमिका खेलेकी छन् । विभिन्न तालिम संचालन गरेर महिलालाई सिप सिकाउने तथा आय आर्जनबाट सक्षम बनाउने लक्ष्य समेत लिएको बताएकी छन् ।
कलानगरीको रुपमा परिचित ललितपुर प्राचिन सहर हो । प्राचिन सम्पदा संरक्षण आजको आवाश्यक्ता ठानेर सहरको सुन्दरता मासिन नदिन महानगरले महत्वका साथ हेरिरहेको उनको भनाई छ । ऐतिहासिक महत्व बोकेको यस सहरलाई थप व्यवस्थित गर्दै लैजाने योजना अघि सारेको उनको भनाईछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस् …..
