पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जहाज उडान भर्न तयार छ। तरपनि उडान कहिले सुरु हुन्छ ? अझै अनिश्चित छ । धावनमार्ग, टर्मिनल भवन र अरू उपकरणको चाँजोपाँजो सबै मिले पनि कतिपय प्राविधिक समस्या यथावत् रहेका छन् ।
उडानको तयारी पूरा भएको छैन । पूर्वतर्फ रहेको रिठेपानी डाँडा कटान अझै सुरु गरिएको छैन ।आउँदो १५ दिनमा डाँडा कटान सुरु हुने विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मी बताउँछन्। अझै महत्वपूर्ण कुरा विमानस्थलनजिककै ल्यान्डफिल्ड साइट सार्न बाँकी नै छ । पोखरा महानगरपालिकाले ल्यान्डफिल्ड साइटको विकल्प तयार पार्न सकेको छैन ।
फोहोर लगेर थुप्रो लगाउने ल्यान्डफिल्ड साइटभन्दा पनि नयाँ विकल्प खोजी गरिरहेको मेयर धनराज आचार्य बताउँछन् । त्यसक्रममा उनले फोहोरबाट बिजुली र मल निकाल्ने प्रविधि बुझ्न हेटौंडा हुँदै धरान र भारतको दिल्लीसम्मको अध्ययन अवलोकन भ्रमण गरिसकेका छन् । विमानस्थल आयोजना प्रमुख मुनकर्मीका अनुसार डाँडा कटानपछि उपकरण परीक्षण उडान अर्थात् क्यालिब्रेसन उडान गरिनेछ ।
नी भन्छन्, ‘नोभेम्बर, डिसेम्बरभित्रै क्यालिब्रेसन उडान हुन्छ ।’ त्यसपछि नै अंग्रेजी नयाँ वर्षको छेको पारेर मध्य पुसदेखि पोखरा विमानस्थलबाट उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको जनाएको छ । आयोजनाले उडान सुरु गर्ने भने पनि कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पोखराबाट जहाज उडाउने चासो देखाएका छैनन् ।
क्यालिब्रेसन उडानपछि नै वायुसेवा कम्पनीहरुलाई आह्वान गरिने बताउँछन् मुनकर्मी । तर, पोखरासम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउन पायक पर्ने भारत गोरखपुरतिरको आकाशे मार्ग भारतले अझै दिएको छैन । त्यसका लागि यो विमानस्थल निर्माण सुरु गर्दादेखि नै कुरा उठेको थियो । सरकारले त्यसबारे कूटनीतिक पहल अझै गर्न सकेको छैन ।
विमानस्थलभित्र आवश्यक सैनिक ब्यारेक बनेको छैन । तेल भर्न आयल डिपो बनेको छैन । नेपाल आयल निगमलाई जग्गा छुट्ट्याएर तीन वर्षदेखि तोकेता गरेको मुनकर्मी बताउँछन् । २७ हजार लिटरको साधन तयार पारेको उनको भनाइ छ । अहिले चलिरहेको पोखरा विमानस्थलकै डिपोको तेल गाडीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने निगमको तयारी छ ।
स्वदेशी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गरी भारतका सीमा सहरमा सेवा दिन रुचि देखाएको थियो । तर, पछिल्लो समय बुद्धले कुनै पहल वा प्राधिकरणसँग सम्झौता या समझदारी गरेको छैन । पोखरा विमानस्थल सञ्चालन गर्न सबैभन्दा महत्वपूर्ण भनेको ल्यान्डफिल्ड साइट सार्नुपर्ने हो ।
तर, नयाँ ठाउँ खोजी गरि महानगरपालिकाले कार्यान्वयन गर्न थुप्रै समय लाग्ने देखिन्छ। चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा निर्मित पोखरा विमानस्थल घाटामा जाने भनेर आलोचना पनि हुँदै आएको छ।
