काठमाडौं । डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति पाइएको हो ।
कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले दिएको उजुरीमा उम्मेदवारी रद्द हुनुपर्ने माग गरिएको छ । देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ उल्लेख छ भने मतदाता नामावलीमा ३१ जेठ २००२ लेखिएको छ । आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो ।
देउवाविरुद्ध उजुरी दिएका मल्लले नेपाली कांग्रेस बीपीका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति देखिएपछि उजुरीको आज निर्णय हुने बताइएको छ । कुनै बेला देउवाका सहयोगी मल्ल अहिले देउवासँगै चुनावी मैदानमा उत्रिएका छन् ।
मल्ल २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका थिए । देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि कारबाही सुरु भइसकेको डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए । निर्वाचन आयोगले उम्मेदवारमाथि परेको उजुरीमाथि छानबिन गर्न मंगलबारसम्मको समय दिएको छ ।
उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।यस्तै, नेपाली कांग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका विजयकुमार गच्छदारविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ । उनीविरुद्ध काठमाडौं महानगरपालिका–७ का विवेक अधिकारीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन् ।
अधिकारीले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेज गर्न माग गरेका हुन् ।कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका गच्छदारले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए । भ्रष्टाचार अभियोगमा मुछिएपछि उनी निलम्बनमा परेका थिए ।
यता नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरीविरुद्ध पनि उजुरी परेको छ । रेशमले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । लक्ष्मणले भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । उनीहरु दुबैले वारेसनामममार्फत उम्मेदवारी दिएका थिए ।
रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्रनिकटका उम्मेदवार र लक्ष्मणविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका हुन् । रेशम टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका छन् । लक्ष्मण भने सोही घटनापछि फरार सूचीमा छन् ।
टीकापुर घटनासम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । २०७४ सालको निर्वाचनमा रेशमलाल कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै गर्ने बताए ।
आयोगले आज उजुरीमाथि जाँचबुझ गरी निर्णय लिन समय तोकेको छ । उम्मेदवारको नामावली आयोगले आजै प्रकाशन गर्ने छ भने २६ असोज १० देखि १ बजेसम्मका लागि उम्मेदवारलाई नाम फिर्ता लिनका लागि समय तोकिएको छ । आयोगले २६ गते नै १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।
