काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदैछन् ।
ग्लासगोमा हुन लागेको सम्मेलनका लागि देउवा बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने सचिवालयले जनाएको छ ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत टोलीमा सहभागि छन् । देउवाले कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा नेपालका तर्फबाट धारणा राख्नेछन् । सम्मेलन कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १८ गते स्वदेश फर्किने छन् ।
