काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९र०८० को पहिलो तीन महिनामा ८ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७२ र ०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफा कमाउँदै आएको हो । आर्थिक वर्ष २०७६र०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७ र ०७८ मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो ।
आफ्नो स्वामित्वमा रहेका विद्युतगृहहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी सो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको र प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको जनाएको छ । गत आर्थिक वर्ष २०७८ र ०७९ मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको थियो ।
