प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

प्राध्यापन छाडेर मौरीपालन, मनग्य आम्दानी

कपिलवस्तु, । कपिलवस्तु वाणगङ्गाका अर्जुनप्रसाद पोख्रेलका हातमा दुई वटा स्नातकोत्तरका प्रमाणपत्र र साथमा आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापनको अनुभव छ । अध्यापनमार्फत् समाजमा नाम, दाम दुवै कमाउनुभएका उनि पछिल्लो दुई दशकदेखि व्यावसायिक मौरीपालनमा रमाएका छन् । विसं २०६० मा २० वटा घारबाट मौरीपालन सुरु गर्नुभएका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसक्नुभएको छ । उनले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाएका छन् ।

“प्राध्यापन पेसा छाडिसकेको छु”, उनले भने, “पूर्णरुपमा यसैमा लाग्ने योजनाका साथ एक हजार घारमा मौरी पालन गर्ने योजना बनाएको छु ।” ‘माउण्टेन बि कन्सर्न’ कृषि फार्ममार्फत् उनिअहिले ‘माउण्टेन अर्जुनादी हनी’ उत्पादन गरी देशभर ब्रान्डिङ गर्ने तयारीमा समेत हुनुहुन्छ । लुम्बिनी प्रदेशमा उनको महको ब्राण्ड परिचित नै छ । मौरीपालनका लागि रु ४० लाखको लगानी लगाउनुभएका उहाँ यो मौरीचरनको सिजन एकाले व्यस्त हुनुहुन्छ ।

कात्तिक र मङ्सिर महिनामा मौरी बोकेर चरन खोज्दै उहाँ दाङ, प्यूठानसम्म पुग्नुहुन्छ । अहिले तोरी फूल्ने समय भएका कारण उनलाई मौरी चराउन भ्याइनभ्याइ छ । मौरीपालनबाट वार्षिक ४० क्विन्टल मह उत्पादन भइरहेको उनले जानकारी दिए । “मौरीको मह, मैन र गोला बिक्रीबाट वार्षिक रू ३० लाख बराबरको आम्दानी भइरहेको छ”, उनले भने, “सबै खर्च कटाएर रु १५ लाख बचत हुन्छ ।”

श्रीमान्, श्रीमती मिलेर सुरु गरेको व्यवसायमा आफूबाहेक अन्य पाँच जनाले जागिर पाएको उनले बताए। उनले मह बिक्रीका लागि ‘अर्जुन बेस्ट हनी’ पसल पनि सञ्चालन गरिरहनुभएको छ । “पसलबाट आफूले उत्पादन गरेको र अरु किसानले उत्पादन गरेको मह बिक्री हुन्छ, त्यसबाट पनि आम्दानी राम्रो छ”, उनले बताए । अर्थशास्त्र र समाजशास्त्रबाट स्तानकोत्तर उत्तीर्ण उनि काठमाडौँदेखि कपिलवस्तुसम्मका दर्जन बढी क्याम्पस, कलेज र विद्यालयमा अध्यापन गराइसकेका छन् ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्षसमेत भइसक्नुभएका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा लाग्नुभएको छ । अझै पनि ६० प्रतिशत मह आयात भइरहेको भन्दै त्यसई प्रतिस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । इजरायलमा एक महिना बसेर अन्तर्राष्ट्रिय मौरीपालन तथा मौरी व्यवस्थापन एकेडेमिक कोर्स पूरा गर्नुभएका उहाँले मौरीपालनसँगै तालिमसमेत दिँदै आउनुभएको छ ।

जिल्लामा तीन सय बढी किसानले व्यावसायिकरुपमा मौरीपालन व्यवसाय गरेको वाणगङ्गा मौरीपालन सहकारी लिमिटेडले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फस्टाएको नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष लीलापति घिमिरे बताए । यहाँ दलहन, तेलहन प्रशस्त लगाइने भएका कारण मौरीपालनका लागि राम्रो भएको उहाँले बताउनुभयो । साथै साल, सिसौ, जङ्गली रुदिलो पनि राम्रै भएकाले मौरीका लागि राम्रो आहार हुने किसानहरु बताउँछन् । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.