भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो | नयाँ शैक्षिक सत्रमा अन्योल : सरकार र स्थानीय तहबीच निर्णय बाझिँदा अभिभावक दोधारमा | बाँकेमा सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा | सीमानाकामा कडाइपछि भारतीय बजारतर्फ नेपाली उपभोक्ताको चहलपहल ८० प्रतिशतले घट्यो | ‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै |

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूर्वाधार निर्माण विकास समिति अध्यक्षमा सुवास शाही र सदस्यमा कल्पना दियाकोटी नियुक्त

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूर्वाधार निर्माण विकास समिति अध्यक्षमा सुवास शाही र सदस्यमा कल्पना दियाकोटी नियुक्त

काठमाडौं । सरकारले धनगढीमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको फाप्ला क्रिकेट मैदान पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही र सदस्यमा कल्पना दियाकोटीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा र दियाकोटीलाई मनोनित गरेको हो। गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो भने उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो ।

रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने गरी ९ सदस्यीय व्यवस्था गरिएको हो । धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न लागेको हो ।

फाप्लाको पहिचान देखि जग्गा प्राप्तिसम्म लागिपरेका शाही र दियाकोटीलाई पूर्वाधारहरु निर्माणको जिम्मेवारी हुने मन्त्रालयले जनाएको छ। बिकास समितिले पूर्णता पाएसंगै सुदूरपश्चिमको मुहार फेरिने कांग्रेस नेतृ तथा समाजसेवी आरजु राणा देउवाले बताइन् ।

आफ्नो सपना र परिकल्पना आज पूरा भएको अध्यक्ष शाहीले कैलाश खबरलाई बताए । सरकारलाई धन्यवाद दिदैँ सुदूरपश्मिको ड्रिम प्रोजेक्टका रुपमा रहेको फाप्लालाई अघि बढाउँन नेतृत्वदायी भूमिका खेल्ने प्रधानमन्त्री देउवा र नेतृ राणा देउवाप्रति आभार व्यक्त गरे।

निर्धारित समयमा रंगशाला निर्माणको कार्य सम्पन्न गराउँन आफू दिनरात नभनि कार्य गर्ने भन्दै शाहीले खेलकुदमन्त्री महेश्वरजंग गहतराजसामु प्रतिबद्धता जनाए। शाहीले भने, ‘फाप्लामा रंगशाला र खेलग्राम निर्माण कार्य अघि बढाउँने जिम्मेवारी मैले पूरा गर्नसक्छु भनेर विश्वास गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु, नियुक्ति पाएसंग अब रंगशाला निर्माणको कामले गति लिनेछ।

हामी निर्धारित समयमा रंगशाला निर्माण गर्ने प्रतिबद्ध छौं ।’ तीन वर्षसम्म समितिको कार्यकाल रहने व्यवस्था गरिएको छ। यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने छ।

क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, क्रिकेट मैदान पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्ने लगायतका जिम्मेबारी पूरा गर्ने समिति सदस्य कल्पना दियाकोटीले बताइन् ।

शाहीको अध्यक्षतामा बनेको ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहनेछन् ।

त्यसबाहेक सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष सदस्य हुनेछन् । प्रशासकीय जिम्मेवारी वहन गर्न खेलकुद मन्त्रालयले उपसचिव सरहका एकजना निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिने छ।

फाप्ला क्रिकेट मैदानको परिकल्पनाकार नै शाही

सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकारका रुपमा परिचित छन् सुवास शाही । फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै उक्त प्रतियोगिता सुरु गरेको खुलाएका छन् । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको हवका रुपमा विकास गरेर लैजाने बताए ।

एउटा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सपना अब पुरा हुने उनको भनाइ छ । ड्रिम फाप्ला अभियानको सपना पुरा भएको बताएका शाहीले अब जिम्मेवारी पाएको बताए । अबको चुनौती भनेको जिम्मेवारी निभाउनृु रहेको बताए । उनीबाट सम्भव हुने देखेर नै सरकारले पूर्वाधार निर्माण विकास समितिको अध्यक्षको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले बतायो ।

फाप्ला मैदान
चौरहाबाट ५ किलोमिटर दूरीमा रहेको साढे ३८ विघा जग्गामा अन्तर्राष्ट्रिय सुविधासम्पन्न क्रिकेट मैदान बन्ने छ । ७० हजार दर्शक अटाउने क्षमताको क्रिकेट रंगशालामा बनाउने सरकारको लक्ष्य छ ।

सरकारले फाप्लालाई खेलग्रामकै रुपमा विकास गर्ने हेतुले फूटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि यहाँ थप्नु पर्ने बताएको छ । अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण भएपछि विदेशी पर्यटक र आन्तरिक पर्यटकका नजरमा यो ठाउँ पर्ने युवा तथा खेलकुद मन्त्रालयले विश्वास लिएको छ ।

रंगशाला निर्माणको कामले गति लिने भन्दै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानले टेक्नोलोजिको प्रयोगमा पनि उल्लेख्य कार्य गर्ने खेलकुद मन्त्रालयले विश्वास लिएको छ ।

तस्वीरमा…

Mohotsav


Thali Mobile Pvt.Ltd.