काठमाडौं । परम्परा बस्न थाले जस्तै भएको छ काठमाडौंको फोहोर । अहिले राजनैतिक दलका गुट उपगुटको गन्धले राजनीति फोहोर भएजस्तै भएको छ उपत्यकाबासीको दिन चर्या । सडक चोक र गल्लीमा फोहो थुपारेर जताततै गन्धले बाटो हिड्नेले समेत नाक छोपेर हिड्नुु पर्ने अवस्था छ ।
यस्तो अवस्था अहिले मात्रै भएको होइन, यो त राजनीति जस्तै बुुढो बन्न थालेको छ । उपत्यकाको फोहोरको समस्या लामो समयदेखिको फोहोरी राजनीतिसंगै हुर्किएको हो । हुनत अहिले नयाँ जनप्रतिनिधि आएपछि उनीहरुलाई काम गर्न नदिने प्रपन्च सहितको षड्यन्ध रचिएको हो भनेर जनताले भन्न थालेका छन् ।
राजनीतिमा स्वतन्त्रबाट आएपछि दलहरुका नेताले यस्तो प्रपन्च रचिएको भनेर सहजै बुझ्न सकिन्छ । फोहोर व्यवस्थापनमा राजनीति मिसिएकाले समाधान गर्न जटिल भइरहेको काठमाडौं महानगरका प्रमुख मेयर बालेन्द्र साहले पनि बताएका छन् ।
दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरेको, काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जाँदै गरेका सवारीसाधनलाई रोक्न स्थानीय नेताहरूले सहयोग गरेको आरोप लगाएका छन् । यो आरोप आम जनसमुदायले पनि स्वीकारेका छन् । भन्छन्, ‘फोहोर व्यवस्थापनमा देखिएको समस्या सतही मात्रै हो ।
यसका गहिरा र अलग्गै कारणहरू छन् ।’ फोहोर व्यवस्थापनमा स्थानीय दलहरूकै कारण जटिल बनेको काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् । ‘फोहोर व्यवस्थापनमा राजनीतिक र प्राविधिक समस्याहरू छन्, हामीले सहमतिमा समाधान गर्ने कोसिस गरिरहेका छौं।’ डंगोलले भनिन् ।
फोहोरलाई राजनीतिक दलले आफू अनुकूल फाइदा लिने विषय बनाउँदा लामो समयदेखि यो समस्या बल्झिरहेको महानगरको वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले बताइन् । उनी भन्छिन्, ‘राजनीतिक दलका माग पूरा गर्ने, विरोधको माध्यम बनाउनेजस्ता समस्या यसकै उदाहरण हुन् र यो समस्या अघिकै समस्या हो ।’
जता हेर्यो उतै अहिले काठमाडौंमा फोहोरको थुप्रोले भरिभराउ छ । छेउछाउमा थुप्रिएका फोहोरका डंगुरले बाटो हिँड्नै नसक्ने अवस्था किन आइरहेको छ रु नदीका किनार हुन् या चोक वा पुलपुलेसा, लामो समयदेखि फोहोर कुहिएको लिच्चडको नमिठो गन्ध र झिंगा भन्किएको दृश्यले नागरिकको स्वास्थ्यमा असर पार्छनै ।
‘छ्या ! यस्तो फोहोर पनि राजधानी भनेर नभन्ने सायदै होलान् । तर यसको समाधानमा सबैले हातेमालो गर्नु पर्ने होइन र रु तीनकुने पुलमुनि फोहोरको बोराले भरिभराउ छ । नमिठो गन्ध सुँध्न नसकेर छिटोछिटो बाटो पार गर्ने विद्यार्थी तथा बालबालिका त कटि लड्ने गरेका छन् । फोहोरको थुप्रोले पैदल यात्रुलाई सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुर देखेर आफ्नो मन दुखेको बताउँछन् । यो आर्थिक वर्षमा धरानको विकासका लागि जाने बजेट संघीय सरकारले घटाइदिएपछि निराश भएर राजधानी छिरेका उनले धरानको विकासका एजेन्डासहित काठमाडौंमा गुनासो पोख्न आइपुगेका हुन् ।
आफ्नो गुनासो एकातीर छ तर उनी यहाँ फोहोरको थुप्रो देखेर छक्क परेका छन् । हर्कले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको बताए । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यस्तो बिजोग देख्दा श्रमदान गर्न मन लागेको भनेर मनको बह पोखेका छन् ।
उनले भने, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यस्तो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’ उपत्यकाबाट फोहोर नियमित उठ्न छाडेको दुई महिनाभन्दा बढी भयो ।
फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले गरेको प्रयास असफल हुदैगइरहेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले त संघीय सरकारले आफूलाई असफल बनाउन प्रयत्न गरेको र फोहोरभित्र पसेर राजनीति गरेको अभिव्यक्ति दिदै आइरहेका छन् ।
फोहोरमाथिको राजनीतिकै कारण यो समस्या झनै चर्किदै गएको छ । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या देखिएको तीन दशकभन्दा बढी भइसकेको छ । तर समस्या समाधान हुनुको सट्टा बल्झेको बल्झै देखिन्छ । अहिले पनि नियमित रुपमा फोहोर उठ्न नसक्दा सडक तथा चोकचोकमा फोहोरको डंगुर बनिरहेको छ ।
पछिल्लो पटक काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापन नगरी अन्य काममा हातै नहाल्ने प्रतिबद्धता जनाएका थिए । तर उनी किन असफल हुन थाले त यो भने गम्भिर प्रश्न छ । फोहोरमा हुने गरेको राजनीतिले वाक्क बनेको अभिव्यक्ति किन दिन थाले रु सामाजिक सञ्जालमार्फत् शाहले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका राजनीतिक दलका नेताहरुले निकालेको विज्ञप्ति शेयर गर्दै यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने बताए ।
प्रमुख शाहले फोहोरमाथिको राजनीति भने पनि पूर्वाधारको अभाव, प्रभावित क्षेत्रका बासिन्दासँगको सम्झौता कार्यान्वयन नगर्नु र दीर्घकालीन व्यवस्थापनका लागि तदारुकता पनि समस्याको अर्को कारण मानिएको छ । समस्या पुरानै हो । अहिलेसम्म सरकार र काठमाडौं महानगरपालिकाले प्रभावित क्षेत्रका नेतृत्वसँग १ सय ७४ पटक सम्झौता गरिसकेको छ ।
महानगरपालिकाको नेतृत्वमा आउने बित्तिकै पदभार ग्रहणसम्म नगरी प्रमुख शाह सान्त्वना बाँड्न ल्यान्डफिलसाइट बञ्चरेडाँडा पुगेका थिए । जेठको २६ गते मध्यराति सिसडोल र बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने व्यवस्था गर्नेलगायतका १८ बुँदे सहमति गरेका थिए ।
महानगरमा यसअघि नेतृत्व गरिसकेकाहरुले भने नेतृत्वले ढंग नपुर्याउँदा अहिलेको समस्या आएको भनेर निहुँ खोजेको देखिन्छ । उपत्यकाबाट निस्कने दैनिक १२ हजार टन फोहोरमध्ये काठमाडौं महानगरपालिकाको मात्रै आधा हुने गरेको छ । उपत्यकाका १८ वटै स्थानीय तहको फोहोर व्यवस्थापनको नेतृत्व लिएको काठमाडौं महानगरपालिकाका हालसम्मका नेतृत्वमा पुगेकाहरुले यसको वैज्ञानिक व्यवस्थापनतर्फ ध्यान दिएनन् ।
त्यसमाथि ८–१० किलोमिटर सडक नबनेको बहानामा दशकौंदेखि राजधानीबासीलाई फोहोरको मारमा पार्दै गए । अझ चुनावको मुखमा चर्किएको फोहोरमाथिको यो राजनीतिले कसैलाई पनि फाइदा पुग्दैन भन्नेतर्फ कसैको ध्यान गएको छैन ।
समाधान के त ?
काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान र थप रणनीति तय गर्न आवश्यक छ । सबैभन्दा शिक्षित र भिआइपी बन्ने सहरमा सबैभन्दा दुर्गन्धले भरिनु लाजमर्दो हो । अन्तराष्ट्रिय जगतमा फोहोरी काठमाडौं भन्दा नेताहरुको मन चसक्क घोच्नु पर्ने हो तर लाजनीतिमा रमाउने नेताहरुको अगाडि फोहोर समेत लाजले भुतुक्कै भएको छ ।
सहरी विकास मन्त्री, काठमाडौं महानगरका मेयर, ललितपुर महानगरपालिकाका मेयर र प्रभावित क्षेत्रका स्थानीयबीच बसेर गम्भिर छलफल गरेर यसको समाधानको उपाए खोज्नै पर्छ । सहमति जनाएजस्तो गरेपछि काठमाडौंको फोहोर उठ्न थाल्ने र माग पुरा नगरे फेरी फोहो थुप्रिनुुले काठमाडौंबासी पनि वाक्क भइसकेका छन् ।
त्यसैले मन्त्रालयले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता दिर्घकालिन रुपमा जनाउनै पर्छ । बञ्चरेडाँडाको विकल्प पनि खोज्न जरुरी छ । ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र पनि खोज्न जरुरी छ । फोहोर व्यवस्थापनको तत्काल समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण उत्पन्न हुुने समस्याले यसको समाधान हुदैन ।
सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै विश्वासको बातावरण हुने छ । तर यतिले मात्रै पुग्दैन सरोकावालाले गम्भिर भएर सोच्न जरुरी छ ।
