काठमाडौं, २७ भदौ । बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भइरहेका छन् । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
रसुवाको मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । भदौ १० गते आएको बाढीका कारण अवरुद्ध सडकमा हालसम्म यातायात सञ्चालन हुन सकेको छैन । रसुवाकै मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड तथा नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरोका कारण भदौ २५ गतेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा पहिरो खसेपछि भदौ २६ गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्ड पनि रातिको समयमा बन्द गरिएको छ । उक्त सडकखण्ड भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म रातिको समयमा बन्द रहने व्यवस्था गरिएको हो । यसैबीच, भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेंसी पुग्न वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार–मास्टार सडकमा शनिबारदेखि समय निर्धारण गरेर एकतर्फी यातायात सञ्चालन गरिएको छ ।
सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारीसाधन सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायात सञ्चालनको व्यवस्था गरेको हो ।
प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ जाने सवारीसाधनले दिउँसो १२ बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ । त्यसैगरी, दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन् । गल्छीतर्फ जाने सवारीसाधनले बेलुका ७ बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने प्रशासनले जनाएको छ ।
बाढी तथा पहिरोका कारण मुख्य सडकहरू अवरुद्ध भइरहेका बेला वैकल्पिक सडकमा समेत समय निर्धारण गरेर यातायात सञ्चालन गरिएपछि यात्रुले प्रशासनले तोकेको समयअनुसार यात्रा गर्नुपर्ने भएको छ ।
