भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ

विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ

काठमाडौं, २७ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन् ।

बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था, स्वयंसेवी संस्था तथा स्वयंसेवकलाई काम गर्ने सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे । राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर उद्धार तथा राहतका लागि स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उनको भनाइ थियो ।

विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै ओलीले ११–१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको टिप्पणी गरे । उनले उद्धार कार्यलाई थप प्रभावकारी र शीघ्र बनाउन सरकारलाई सुझाव दिए ।

विस्थापित परिवारका सदस्यलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि सरकार संवेदनशील हुनुपर्ने ओलीले बताए । बुबा एउटा शिविरमा र छोरी अर्को शिविरमा राखिएको उदाहरण दिँदै उनले परिवारका सदस्यलाई सँगै बस्न तथा एक–अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । स्वयंसेवकलाई स्वच्छ खाना, सुरक्षित वातावरण तथा आवश्यक स्वास्थ्य सावधानीको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे । राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न पनि ओलीले सरकारलाई सुझाव दिए ।

प्रहरीको मुख्य जिम्मेवारी सरकारको कमजोरी लुकाउन नागरिकलाई रोक्नु नभई नागरिकको सुरक्षा गर्नु भएको उनले बताए । ओलीले सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पारे । तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने उनको भनाइ थियो ।

जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने उल्लेख गर्दै ओलीले विपद्को समयमा सरकार, राजनीतिक दल, नागरिक समाज तथा स्वयंसेवी संस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.